भारतकाे अदालतमा चितुवा गयाे, जनावरकाे आक्रमणबाट दैनिक एक जनाकाे मृत्यु

फाेटाे-गुगल अहमेदावाद ।भारतीय वातावरण मन्त्रालयले यसै बर्षको अगष्ट महिनामा सार्वजनिक एक प्रतिवेदनमा भरतमा सन् २०१४ को अप्रिलदेखि सन् २०१७ को मे महिनासम्म जङ्गली जनावरले एक हजार ११४ व्यक्तिलाई आक्रमण गरी मारेको वा खाएको जनाएको छ । यो सङ्ख्या हेर्दा जङ्ली जनावरले भारतमा दैनिक एक जनालाई मार्ने गरेको देखिन्छ । जङ्ली जनावरले मानिस मात्र मारेकाे छैन, जङ्ली जनावर अदालत समेत गएका छन् । भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताए । कोटिला सहरको अदालतमा चितुवा प्रवेश गरेको खबरपछि खदालतका कर्मचारी तथा वरपरका मानिसहरू त्रसित एवम् उत्साहित हुँदै चितुवा रहेको भवनलाई घेरेर हेरिरहेकाले चितुवा कोठामा लुकेर बसेको अवस्थामा करिव साढे तीन घण्टापछि दराजमुनि लुकेर बसेको भेटियो । करिब दुईदेखि तीन बर्षको अनुमान गरिएको चितुवालाई विस्तारै वातावरणलाई शान्त पार्दै कोठाबाट बाहिर निकालियो र जङ्गलतिर पठाइयो । भारतमा १२ हजार देखि १४ हजार चितुवा रहेको तथ्याङ्क छ । मानव वस्तीले जङ्गली क्षेत्रमा अतिक्रमण भएपछि उनीहरू वस्तीमा आहाराको खोजीमा पुग्ने गरेको र त्रसित गाउँलेले औसतमा एक चितुवा मार्ने गरेको तथ्याङ्क छ । विज्ञहरूका अनुसार यस्ता खालका घटना पछिल्ला दिनहरूमा बढेका र यसको कारण शहरीकरणका कारण जङ्गली जनावरको वासस्थान खुम्चिुनु रहेको छ ।

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकको १४ अाैँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँगै बैंकका अन्य कर्मचारीको उपस्थित रहेको थियो । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता उक्त कार्यक्रम सम्पन्न भएको छ । हाल सानिमा बैँकको ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा एटिएम रहेको छ ।

एकमात्र यस्तो विद्यालय जहाँ एउटा कोठामा ४ वटा कक्षा सञ्चालन हुन्छ

धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् । कक्षामा विद्यार्थी चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नं २ चोतेस भन्ने दुर्गम गाउँमा अवस्थित बागेश्वरी आधारभूत विद्यालयमा यसरी चार कक्षा एउटै कोठाबाट वर्षौंदेखि पढाइ भइरहेको छ । तर शिक्षामा लगानी गर्नेको ध्यान जान सकेको छैन । विद्यालयमा जम्मा एउटा कोठा छ, बालकक्षादेखि कक्षा तीनसम्म पढाइ हुन्छ । दुई शिक्षक सँगै जान्छन् । विद्यार्थी तिनतिर फर्काएर पढाउछन् । यो विद्यालयको नियमित कार्य भएको छ । कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउँदै, एकै कोठा धेरै कक्षा विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शिक्षक बुद्धिमाया तामाङको भनाइ छ । विद्यालयमा राज्यले निर्धारण गरेको न त भूकम्प प्रतिरोधी भवन नै छ न त अपाङ्गतामैत्री लैङ्गिकमैत्री कक्षाकोठा नै छ । विद्यालय हाता साँघुरो छ, न खेल मैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थी रहेको यस विद्यालयमा सरकारी दरबन्दीको शिक्षक छैनन् । सबै चेपाङ बालबालिकामात्र अध्ययन गर्न आउने उक्त विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाउँलेले नै स्रोत जुटाएर शिक्षक राखेका छन् । जीर्ण भवन, शिक्षकको अभाव र शौचालयको अभावले यस विद्यालयका बालबालिकाले निकै दुःख खेपिरहनुपरेको छ । रासस