महालक्ष्मीले धुलिखेलमा गर्यो बीमा जनचेतना कार्यक्रम

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बुधवार धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेशकुमार भट्टराईले उद्घाटन गरे । दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमाज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालले जानकारी गराएका थिए । दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रशिक्षण दिएका थिए भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिएका थिए । सहकारी संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराए ।कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

आशा लघुवित्तद्वारा कैलालीको मसुरियामा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले २०७६,बैशाख १७, १८ र १९ गते सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय मसुरिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५४ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तालिम प्रदान गरेको हो । तालिम कार्यक्रम उद्घाटन गर्दै शाखा प्रमुख आशिष थारुले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, अचार तथा दालमोठ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ५७६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

थियटरमा नाटक हेर्नेको भीड, ‘जोखाना’ले कमायो १६ लाख

काठमाडौं । पछिल्लो समयमा युवावर्गको नाटक प्रति रुचि बढ्दै गएको छ । विभिन्न थिएटरमा युवावर्गको घुईचो दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । अनामनगरको मण्डला थिएटरमा चैत ८ गते देखि प्रदर्शन भएको ‘जोखना’ ले ५ हप्ताको अवधिमा १६ लाख कमाएको निर्देशक किरण चाम्लिङ राई भन्छन् । हाल विद्यालय, कलेज पढ्ने विद्यार्थीहरूले थिएटर नजिकैबाट दिन प्रतिदिन नियाल्दै गरेको निर्देशक राईले बताए । सो नाटक प्रदर्शन सम्पन्न भएसँगै अझै समय थप्नु पर्ने माग आईरहेको निर्देशक बताउँछन् । नाटकबाट आम्दानी नभईरहदाँको समयमा निर्देशक राईको निर्देशनमा रहेको उक्त नाटकले १६ लाख कमाएर पछिल्लो समय आफ्नो स्थान कायम राखेको छ । सिनेमाको प्रदर्शनसँगै नाटक प्रति सर्वसाधारणको चाँसो कम हुँदै गर्दा हाल युवाबर्गको ध्यान नाटक/ थिएटर बन्न पुगेको छ । गत चैत ८ गते देखि मण्डला थिएटरमा ‘जोखना’ ले राम्राे छाप छोड्न सफल भयाे । नाटक गत चैत्र ८ गतेदेखि बैशाख १४ गते सम्म हरेकदिन साँझ ५ः१५ बजेदेखि शुरु हुने गरेको थियो । सोमबार बाहेक हरेक शनिबार दिउँसो १ बजे पनि प्रदर्शन गरेका थिए । १० वर्षे जनआन्दोलनलाई मध्यनजर गर्दै श्रीमान गाँउबाट बेपत्ता भएको समयमा एउटा महिलाले भोग्नु परेको समस्यालाई नाटकमा चित्रण गर्ने काम निर्देशक किरण चाम्लिङ राईले गरेका थिए । वियस् राईको कथा ‘जोखना’ मा आधारित रहेको छ । सबै खर्चलाई कटाएर ‘जोखना’ले खुद नाफा १० लाख कमाएको निर्देशक राईले बताए। पछिल्लो समय नाटक हेर्नेको संख्यामा कमि आउँदै गर्दा जोखना हेर्न आउनेहरुमा घुइँचो रहेको निर्माता टिमले जानकारी दिएको छ । नाटकमा समावेश विषयवस्तु समाजमा अझैपनि स्थिर रहेको परम्परागत विषयलाई भएका ‘जोखना’ कथाकार वियस् राईको ‘हिउँमाझी’ कथाकृति पढिसकेपछि उक्त नाटक निर्माण गरेको राईले बताए । नाटकमा ११ जना पात्रले यस नाटकको विषय वस्तुलाई सहज एवंम सरल ढंगबाट प्रस्तुत गरेका छन् । पात्रमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, रवि राई, सुद्धर्शन क्षेत्री, दिवान रसाइली, मणीराज राई आदी रहेका थिए । भने नाटकको उत्पादन व्यवस्थापन सञ्जिव राईले गरेका हुन् । आफु आर्दशमा टेकेर समाधान खोजिरहने आर्दशवादी समाजको कर्तव्यलाई प्रष्ट पार्दै अग्रमन तिर जानुपर्ने विषयवस्तुलाई नाटकले स्पष्ट रुपमा जानकारी दिएको छ । द्धन्दसँगै घटेका धेरै घटना जुन अझै समाजका कुनामा रहेका छन् भन्ने विषय वस्तुलाई प्रस्तुत गर्न खोजिएको थियो । ‘जोखना’ कथालाई आधारभूमि मान्दै ‘पूर्वी संस्कृति’का लय, बिम्ब र जीवन दर्शन समेतलाई नाटकका माध्यमबाट भन्ने प्रयास गरिएको थियो । पूर्वी सांस्कृति रंगमा सशस्त्र द्धन्द्धको मिसावट रहेको ‘जोखना’ लाई नाटकको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शन पछिको प्रतिक्रियाले उपत्यका बाहिर नाटक प्रस्तुत गर्ने माग आईरहेको जानकारी दिँदै निर्देशक राईले आगामी दिनमा यस्तै प्रस्तुती दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।