को हुन् नकाव लगाएर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका व्यक्ति ?

काठमाडौं । सोमबार(आज) बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरेका छन् । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल उपस्थित रहेका सर्वसाधारणहरुमा परेको थियो । नकाव सहित विमानस्थलबाट बाहिरिनु रहस्यमय त थियो नै झन् त्यहाँ उपस्थित मिडियाकर्मिले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुले ती व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कल काटेका थिए । ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठुलै भिड जम्मा भएको थियो । पछि पत्रकारहरुले अर्न्तवार्ता लिने क्रममा बल्ल थाहा भयो कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारत बाट आएका खेलाडि रहेछन् । उक्त प्रतियोगितामा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् । यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनामा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

“महालक्ष्मी साहित्य पुरस्कार” चितवनको धनराज गिरिलाई

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरिले पाएका छन् । गिरिलाई एक समारोहका बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार दिएका हुन् । गिरिले उक्त पुरस्कार स्वरुप २१ हजार एक रुपैयाँको चेक पाएका छन् । उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरिएको थियो । उक्त समारोहमा साहित्य विद्याका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पुर्याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको थियो । सो पुरस्कार “यति साहित्य पुरस्कार” हुँदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” । साथै, पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरि यसै बर्षदेखि २१ हजार एक रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ ।

१७ किलो सुनसहित एक युवक पक्राउ

लमजुङ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनाङको नासोङ गाउँपालिका-९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ जाँचका क्रममा पक्राउ परेका हुन् । प्रहरी जाँचका क्रममा उनी भाग्न खोजेका र भाग्दै गर्दा खुदी बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । युवकबाट एक किलो लेखिएको १७ थान सुन समातिएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए । प्रहरीले ती युवकले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नं को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । सदरमुकाम बेँसीशहरबाट करिब सात किमी उत्तरतर्फ मनाङ जाने बाटोमा युवक समातिएका हुन् । सुनलाई तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । रासस