नयाँ बसपार्कमा टहरा पसल हटाइयो, ट्राफिक व्यवस्थापन सहज बनाइदै

काठमाडौँ । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए । यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ । करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारीसाधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आउने महाशाखा प्रमुख पन्तले बताए । गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रूपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम शुरु गरेको हो । महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टपलाइन निर्माण, तीन हजारभन्दा धेरै मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतनाकक्ष सञ्चालन गरिसकेको छ । यस्तै, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको राष्ट्रिय बसपार्क क्षेत्रमा हुने जाम कम गर्न करिडोरले महत्वपूर्ण सहयोग पुग्ने बताए । “करिडोर निर्माणसँगै बसपार्क पुलमा हुने जाममा कमी आउँछ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् । रासस

मंगलबार जौको सातु र सर्वत खाई अक्षय तृतीया मनाइँदै

काठमाडौँ । वैशाख शुक्ल तृतीयाका दिन मंगलबार दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ । सो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ । यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो । रासस

डिसहोमको सहकार्यमा बैशाख २८ गते रेस्लिङ च्याम्पियनसिप हुने

काठमाडौँ । रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागी हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८-२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडाँै र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।