गायक संजीब पराजुली र टीका प्रसाईंको ‘‘पहिलो भेटैमा’’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ’नाईं मलाई थाहा छैन’ का गायक गायिका संजीब पराजुली र टीका प्रसाईंको अर्को गीत ‘‘पहिलो भेटैमा’’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा होमनाथ न्यौपानेको शब्द रचना, दीपक भट्टराईको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ । हालै सार्वजनिक गायक संजीबको एकल एल्बम ’त्यो सपना…’ मा समावेश यो गीतमा गायिका टीका प्रसाईंले साथ दिएकी छन् । गायकद्वयका ’नाईं मलाई थाहा छैन’ र ’तिमी मलाई मन पर्छ’ का साथै अन्य गीतहरुले पनि अत्यधिक चर्चा पहिले नै पाईसकेका छन् । ‘पहिलो भेटैमा’ गीतको म्युजिक भिडियोमा नायक कर्मा र नायिका वर्षा शिवाकोटीको दमदार प्रस्तुति हेर्न सकिन्छ । नायक कर्माको यो पहिलो म्युजिक भिडियो रहेको कुरा उनले बताए । भिडियोको निर्देशन लक्ष्मण पौडेलले गरेका हुन् । पौडेल हालै सम्पन्न ’नेपाल आइडल’का डाइरेक्टर थिए । ‘पहिलो भेटैमा’ भिडियोको दृश्य सम्पादन भरत रेग्मीले गरेका हुन भने भिडियोमा कोरियोग्राफी दिपेन्द्र श्रेष्ठले गरेका हुन् । त्यो सपना एल्वम शनिबार गीचकार दिनेश अधिकारीले सार्वजनिक गरेका हुन् । यस एलभल्ममा ‘हिट हिट गीत’ बोलको गीतमा र्यापर मि. प्रिन्स (विवेक भण्डारी) र अनु शाक्यले साथ दिएका छन् । गीतलाई संजिव बराइली (ट्रयाक १), साहस शाक्य (ट्रयाक २), गोपाल रसाइली (ट्रयाक ३ र ४) र सचिन सिंह (ट्रयाक ५) ले एरेन्ज गरेका छन् । एल्बम ‘त्यो सपना’ लाई अस्ट्रेलियामा रहेको बाबा एजुकेशन कन्सल्टेन्सीले सहयोग गरेको छ । को हुन् होमनाथ, दीपक र संजीव रचनाकार होमनाथ न्यौपाने, संगीतकार दीपक भट्टराई र गायक संजिव पराजुलीको संयुक्त एल्बम ‘त्यो सपना’ सार्वजनिक भएको छ । गायक पराजुली अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् भने संगीतकार दीपक जापानमा बस्छन् । गीतकार होमनाथ चौधरी ग्रुपका महाप्रबन्धक हुन् । संख्याको हिसाबमा एक सय भन्दा बढी गीत रचना गरिसकेका होमले बिक्रम संवत् २०५० सालदेखि गीत लेख्दै आएका छन् र उनको यो पाँचौं सोलो एल्बम हो । क्लासिक भोकलका गोल्ड मेडलिस्ट समेत रहेका दीपकले संख्याको हिसाबमा एक सय पचास भन्दा बढी गीतमा संगीत दिइसकेका छन् । भोकल राम्रो हुँदाहुँदै पनि दीपकले बिक्रम संवत २०५४ सालदेखि संगीतकारको रुपमा आफूलाई परिचित गराएका हुन् । हिट गीत ‘नाई मलाई थाहा छैन’ मार्फत् परिचय फैलाउन सफल गायक संजिवको पनि यो दोस्रो सोलो एल्बम हो । फरक क्षेत्र र भूगोलमा आफ्नै कार्यक्षेत्रमा व्यस्त भएता पनि गीतसंगीतमा भने यी तिनैले आफूलाई एकै बनाएका छन् । सार्वजनिक ‘त्यो सपना’ एल्बममा ५ गीत संग्रहित छन् । ट्रयाक नम्बर १ मा ‘त्यो सपना’, २ मा ‘पहिलो भेटैमा’, ३ मा ‘हिट हिट गीत’, ४ मा ‘मेरी मायालु’ र ५ मा ‘बेदनाले’ संग्रहित छन् ।
नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षको तलब पाँच लाख बढी, विद्यार्थी संगठनलाई बाढिन्छ वार्षिक डेढ करोड
काठमाडौं । नेपाल इन्जिनियरिङ क्याम्पसका अध्यक्ष लम्बोदर न्यौपानेले गरेको मनपरीतन्त्रको नयाँं प्रमाण फेला परेको छ । अध्यक्षसहित सञ्चालक रामरत्न उपाध्याय, लवराज भट्टराई र उपेन्द्र गौतम गरी चार जनाले विद्यार्थी तथा कलेजलाई गरेको विश्वासघात र गद्दारीको नयाँं प्रमाण फेला परेको हो । नेपाल इन्जिनियरिङ कलेजको सञ्चालक समितिको आकस्मिक विशेष बैठक भनेर सात वटा गुप्त निर्णय भएको थाहा भएको हो । यी निर्णयहरु अन्य सञ्चालकहरुबाट आजका दिनसम्म पनि लुकाइएका छन् । कलेज सञ्चालक समितिका सदस्य सलिल भट्टराईका अनुसार निर्णयहरुमा कलेजमा रहेका विद्यार्थी संगठनहरुलाई अनैतिक रुपमा बाँड्न कलेजबाट वार्षिक १ करोड ५० लाख रुपैयाँ झिकी सो खर्चको फाँटबारी तथा भरपाई अध्यक्षले पेश गर्नु नपर्ने निर्णय रहेको छ । सो खर्चका लागि कलेजले दिएको विभिन्न छात्र वृद्धीको कटौती गर्ने निर्णयमा उल्लेख छ । अध्यक्षको कर कट्टा गरेपछिको मासिक तलब ५ लाख रुपैयाँ र सञ्चालकहरुको मासिक तलब १ लाख २५ हजार रुपैयाँ भनी आफुखुशी निर्णय गरिएको पाइएको छ । माथी उल्लेखित सञ्चालकहरुले थप रकम पनि लिने निर्णय गरिएको छ । सो हिसाबले अध्यक्षको कुल तलब ६ लाख ७५ हजार ६ सय ७५ रुपैयाँ र सञ्चालकहरुको तलब १ लाख ६८ हजार ९ सय १८ रुपैयाँ हुन्छ । ३ जना सञ्चालकहरुको सो भन्दा अझै बढी तलब छ । कलेजका प्राचार्य तथा उपप्राचार्यलाई तलब बढाउनुको सट्टा विविध खर्च भनेर मासिक १० हजार अध्यक्षले आफु खुसी दिने निर्णयामा उल्लेख छ । कलेजले अध्यक्षलाई अष्ट्रेलिया जानआउन वार्षिक ३ पटक (६ वटा) प्लेन टिकेट र अध्यक्षकी पत्निलाई अष्ट्रेलियाबाट आउनजान वार्षिक २ पटक (४ वटा) प्लेन टिकेट दिने निर्णयमा उल्लेख छ । अध्यक्ष लगायत सञ्चालकहरुको तलब भत्तालाई चाहिने रकम लेखाबाट लुकाउन कलेजको चलन चल्तिमा रहेको खाताको प्रयोग नगरी यिनै ४ अध्यक्ष तथा सञ्चालकहरुको सहीले चल्ने नयाँ खाता खोली पैसा बाँड्ने निर्णयमा उल्लेख छ । कुनै बेला कलेजमा विद्यार्थीसँग उठाउन बाँकी रकम १५ करोड रुपैयाँ रहेको व्यहोरा उल्लेख गरिएको छ । सो रकम उठाउन विद्यार्थी संगठनहरुसँग समन्वय गरी सो रकम को १५५ वा २ करोड २५ लाख रुपैयाँ खर्च गर्ने र सो खर्चको फाँटबारी पेश गर्नु नपर्ने समेत निर्णय गरेको उल्लेख छ । पटके रुपको २ करोड २५ लाख रुपैयाँ बाहेक वार्षिक १ करोड ५० लाख रुपैयाँको मात्रैको आधारमा सो रकम गत ४ वर्षमा कुल ६ करोड रुपैयाँ पुगेको हुनुपर्छ । ६ करोड र अध्यक्षले लिएको २ करोड २५ लाख रुपैयाँ गरि कुल ८ करोड २५ लाखले ७० जना विद्यार्थीले छात्र वृद्धीमा पढ्न पाउँथे । निशुल्क अध्ययन कोटा तथा नगद सहयोगको कटौती गर्नुनपर्ने भट्टराईले बताए । आर्थीक बचत सबै अध्यक्षको बैंक एकाउन्टमा पुगेको रहेछ । गत १ आर्थिक वर्ष देखी मात्रै अध्यक्षको नाममा कलेजबाट ७ करोड ६१ लाख रुपैयाँभन्दा धेरै रकम झिकिएको उनले जानकारी दिए । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुर मुनाफारहित रुपमा सञ्चालनमा ल्याउने गरी सामाजिक संस्था दर्ता अनुसार सञ्चालित कलेज हो । तर पछिल्ला वर्ष अध्यक्षलगायतले बदमासी गरी निजीकरण गर्न खोजिंदै आएको भट्टराईले जानकारी दिए ।
नेपालले ‘ओबिओआर’बाट कसरी फाइदा लिने ?
चीन । चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको यो आयोजना र यहाँको समृद्धि नेपालजस्तो छिमेकीका लागि समुद्र नै हो, यसबाट कति पानी उभाएर लिने भन्नेकुरा उसको क्षमता र अग्रसरतामा भरपर्दछ । उक्त इन्स्टिच्युटमा हालै आयोजित एक अन्तरक्रियामा उनले चीनको यस विशाल आयोजनाको सुरु नै साङ्सी प्रान्तबाट भएकोले यहीँबाट नेपालप्रति सद्भाव मात्र राखेको र लाभको ‘मोडालिटी’ भने नेपालले नै तयगरी लाभ लिनसक्नेगरी अघि बढ्न सुझाएको बताए । प्राध्यापक चाङले नेपाल र दुवै देशको फाइदाका लागि अत्यावश्यक आधारभूत पूर्वाधार भनेको ‘कनेक्टीभिटी’ (सडक सञ्जाल) नै हो भने । हुनत कतिपय मानिसहरु ओबिओआरलाई बाटो नै भन्ने ठानेका छन्, तर त्यतिमात्र नभए पनि ‘सहज स्थलमार्ग’ द्विपक्षीय फाइदाको आधारभूत आवश्यकता हो र यसबाट नेपालमा चिनियाँ लगानीदेखि चिनियाँ पर्यटकसम्मलाई प्रत्यक्ष फाइदा पुग्नेछ, उनको धारणा थियो । उनी भन्छन्, नेपालमा लगानी गर्न जाने चाहना कैयौँ चिनियाँ उद्योगी व्यवसायीहरुको छ । हाम्रो संस्थामार्फत समेत उनीहरुले यस्तो इच्छा व्यक्त गरेका छन् । तर पनि उनीहरुमा नेपालमा लगानीको सुनिश्चितताको विश्वास छैन । नेपालमा लगानी जोखिमपूर्ण रहेको सोँच चिनियाँ लगानीकर्तामा छ । यो भ्रम नेपालले चिर्न सक्नुपर्छ । अनि सडक सहज नहुदा व्यापारिक आदान प्रदान र आयात निर्यातको सहजतामा उनीहरु प्रश्न गर्छन् । त्यसैले यस्तो कुराको बढी चासो र अग्रसरता नेपालले लिनुपर्छ र दुवै देशले पहिलो चरणमा कम्तीमा पनि सडक सञ्जालले जोड्नुपर्छ । सडकपछि द्विपक्षीय व्यापारमा नेपालले जोड दिनसक्नुपर्छ र नेपालबाट चीनतर्फ निर्यात गर्नसक्नेगरी उत्पादनमा जान सक्नुपर्छ, उनी भन्छन् । हामीले हाम्रो छिमेकी समृद्ध भएको देख्न चाहन्छौँ भन्दै उनले थपे, नेपालले चीनबाट फाइदा लिनसक्ने भनेको व्यापार, लगानी र पर्यटन नै हो । नेपाल सुनेका प्रत्येक चिनियाँको नेपाल हेर्ने इच्छा छ । तर धेरैलाई नेपालबारे थाहा छैन । त्यसैले उनीहरुलाई पर्यटकका रुपमा नेपाल लानसक्नेगरी नेपालले चीनसँग मिलेर काम गर्नुपर्ने उनको भनाइ छ । यो संयोग पनि हुनसक्छ कि सियानमा उहाँले यो बिचार राखिरहँदा नेपालमा पनि चाइना रेलवे एड्मिनिस्ट्रेशनका अधिकारीहरुले केरुङ काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि सर्वे गरिरहेका थिए । उनीहरुले नेपाल सरकार इच्छुक भएमा केरुङ काठमाडौँ रेलमार्ग सम्भव रहेको भन्दै यसको लागतसमेत निकालेका थिए । चीनले सन् २०२० सम्ममा उक्त रुटको रेलमार्ग पूरागर्नेगरी काम गर्न सकिने बताउदै आएको छ । चीन सरकारले अघि सारेको २१औँ शताब्दिको संसार कै सबैभन्दा महत्वाकांक्षी र ठूलो आयोजना ‘वान बेल्ट वान रोड’(ओबिओआर) को समझदारी पत्रमा नेपालले गत बैशाखमा हस्ताक्षर गर्यो । ओबिओआर सडक जोड्ने मात्र होइन, तर सडक सहज हुँदा त्यसबाट बढ्ने जनस्तरको सम्बन्ध र आयात निर्यातको फाइदा भोलिका दिनमा हामीले सोचेभन्दा धेरै बढी हुनेछ, उनले बताए । यसले नेपाललाई आगामी दिनमा आर्थिक विकासमा ठूलो सहयोग पुर्याउने छ । भूपरिवेष्ठित नेपाललाई सडक सञ्जालले जोड्न सकिएमा विश्वको ठूलो पर्यटन बजारका चिनियाँ पर्यटक नेपाल पुग्ने र यस आयोजनामार्फत नेपालमा पूर्वाधारको निर्माण गर्नसके चीन र अरु देशको पनि लगानी भित्रिने उनको विश्लेषण छ । यस आयोजनामा बहुआयामिक प्रकृतिका सञ्जाल रहन्छन् । जस्तो कि रेलमार्ग, सडकमार्ग, सामुद्रिक मार्ग, हवाईमार्ग, पाइपलाइन, उर्जाको ग्रिड, ट्रान्समिसन लाइन, इन्टरनेट र अन्य । चीनले अघि सारेको यो पछिल्लो अवधारणलाई यस शताब्दिको सबैभन्दा ठूलो र महत्वाकांक्षी आयोजनाका रुपमा लिइन्छ । उक्त आयोजनाले प्रत्यक्षरुपमा एसिया र युरोपका कम्तीमा ६४ देशलाई जोड्छ । तीमध्ये अधिकांश देश विकासशील छन् । यस आयोजनाले छुने वा प्रत्यक्ष जोड्ने देशका नागरिकको हिसाब गर्दा विश्वको ६४ प्रतिशत जनसङ्ख्या यसले ओगट्छ । त्यसैगरी अरु आर्थिक सूचकांकको हिसाब गर्ने हो भने पनि यसले विश्वको कुल ग्राहस्थ उत्पादनको करिब ३७ प्रतिशत हिस्सा समेट्छ । यो अवधारणाको सुरुवात चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१३ मा गरेका थिए। युनिभर्सिटी अफ मेडिकल साइन्स्का प्राध्यापक एवम् उक्त इन्स्टिच्युटका निर्देशक डा.राजिवकुमार झा ओबिओआरको सदस्य भएर नेपालको समृद्धिको ढोका खुलेको बताउनुहुन्छ । उनले भने– नेपालको उत्तरी छिमेकी तथा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनको यो महत्वाकांक्षी आयोजनाबाट नेपालले लिने फाइदा त धेरै छन, तर यसबाट कतिसम्म लाभान्वित हुने भन्नेमा गृहकार्य जरुरी छ । नेपाल ओबिओआरमार्फत चीनले दक्षिण एसियामा गर्ने लगानीको ‘ट्रान्जिट प्वाइन्ट’ हुनसक्ने उनको धारणा छ । डा।झा धेरै शब्दजाल भरेर कुरामात्र नगरी नेपालले चीनबाट लगानी र पर्यटक मात्र भित्र्याउन सक्यो भने अरु केही चाहिँदैन भन्छन् । हामी यसैबाट समृद्ध बन्छौँ, तर ओबिओआरको प्रारुपभित्र यो समृद्धि खोज्नुपर्छ, उनले बताए । उनी उक्त इन्स्टिच्युटको दक्षिण एसिया संयोजक पनि हुन् । ओबिओआर आयोजनाको सफलतामा यो अर्ध सरकारी थिंक ट्यंक संस्थाले काम गर्ने गर्दछ । चीनसँगको हाम्रो सम्बन्ध धेरै पुरानो भए पनि भौगोलिक जटिलता बढी छ । त्यसैले हामीलाई आयात निर्यातमै समस्या छ र यसैले निर्भरता दक्षिणतर्फ बढाएको छ । भरपर्दो बाटो भइदिए चिनियाँ लगानी र पर्यटक भित्रिन सजिलो हुनेछ । भूपरिवेष्ठित नेपालले समुद्रसम्मको पहुँच पाउन पनि चीनसँगका कैयौँ नाकाबाट फाइदा लिन सक्नुपर्छ । ती मध्येका सजिला र बाह्रैमास निर्वाधरुपमा सञ्चालनमा आउनसक्ने नाकालाई नेपाल चीन जोड्ने सेतुका रुपमा सञ्चालनमा ल्याउन सकिएमा यसले चीन हुदै हाम्रो पहुँच समुद्रसम्म पुग्नेछ । नेपाल दुई ठूला देशको बीचमा हुनु भनेको अवसर पनि छ । हामीले उत्पादन गर्न सकेका वस्तुको बजार छिमेकमै उपलब्ध छ । त्यसैले यो सञ्जालले हामीलाई सहज बनाउने छ । अर्को कुरा हामी वर्षमा केही करोड पर्यटक खोज्न छिमेकबाट टाढा जानु पनि पर्दैन, चीन र भारतमै उपलब्ध छन् । यी सबै प्रक्रिया र जटिलताको सहजीकरणका लागि सडक सञ्जाल एक भरपर्दो उपाय हो । सन् २०१२ मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएपछि उसले वैदेशिक लगानीको मात्रामा पनि प्रगति गरेको छ । सन् २०१६ को अन्त्यसम्मको आँकडाअनुसार चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर रहेको छ । विगतका वर्षहरुका तुलनामा यो निकै धेरै हो । त्यसैले यो महत्वाकांक्षी आयोजनालाई उनीहरुले संसारमै फैलाउने योजना बनाउन व्यापकरुपमा लागेका छन् । यसबाट नेपाल पनि लाभान्वित हुनु स्वभाविक र जरुरी छ । रासस