के हो क्वारेन्टाईन ? विकसित देशले सबै नागरिकलाई सरकारी क्वारेन्टाईनमा राख्छन् ?
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र सरकारको आलोचन बढेको हो । सामाजिक संजालमा मन्त्री ढकालको यो अभिव्यक्तिको सबैभन्दा धेरै आलोचना भएको छ । संसदमा पनि यो विषयमा प्रश्न उठेको छ । तर, सेल्फ क्वारेन्टाईनमा आशंका लागेका मानिसहरु बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको नीतिमै उल्लेख गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैले आफ्ना नागरिकलाई कोरोना लागेको आशंकामा सेल्फ क्वारेण्टाईनमा बस्नु भनेर आग्रह गर्ने नेपाल मात्र पहिलो देश होइन । नेपालबाहेक अमेरिका, बेलायत, ईटाली, ईरानजस्ता धेरै राष्ट्रले आफ्ना नागरिकलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन् । क्वारेन्टाईन भनेको के हो ? यदि कसैलाई पनि क्वारेन्टाईनमा राखिन्छ भने यसको मतलब उ कोरोना भाईरसबाट संक्रमित भएको भन्ने होइन । क्वारेन्टाईन भनेको यस्तो ठाउँ वा अवस्था हो, जहाँ कुनै पनि रोग भएको आशंका अर्थात पुष्टि नभएको अवस्थामा मानिस वा जनावरलाई राखिन्छ । क्वारेन्टाईनमा रोग पुष्टि नभएको तर संक्रमण रोगको आशंकमा भएका मानिसहरुको हिँडडुल प्रतिबन्ध गर्नको लागि राखिन्छ । फ्लु जस्तो लक्षण देखाएकाहरुलाई सामान्यत १४ दिनसम्म क्वारेन्टाईनमा बस्न भनिन्छ । कोरोना संक्रमण भइसकेपछि लक्षण देखिन १४ दिनसम्म लाग्ने विशेषज्ञहरु बताउँछन् । सरकारले चीनबाट उद्धार गरेका विद्यार्थीलाई १४ दिन क्वारेन्टाईनमा राख्यो । उनीहरु कसैमा पनि कोरोन भएको पुष्टि नभएको र चीनबाट आएका कारण शंकाको आधारमा क्वारेन्टाईनमा राखिएको हो । तर, जनमानसमा कोरोनाको शंका लागेकालाई सरकारले नै उद्धार गरी सुरक्षा दिनुपर्छ भन्ने एक प्रकारको भ्रम परेको छ । क्वारेन्टाईनमा बस्नु भन्नाले तपाई आफ्नो परिवारको सदस्य र भाँडामा सँगै बसेका साथीसँग नबस्नु भन्ने पनि होइन । एउटै घरमा बेग्लै कोठामा बेग्लै सामान प्रयोग गरेर पनि कोरोना शंका लागेका व्यक्ति बस्न सकिन्छ । क्वारेन्टाईनमा बस्नु भनेको सकेसम्म अत्यावश्यक व्यक्तिहरुसँग मात्र भेट्ने, मास्क प्रयोग गर्ने, आफ्नो सामानहरुको प्रयोग आफै मात्र गर्ने, घरमा प्रत्यक्ष सम्पर्कमा आउने सामाग्रीहरुलाई सफा राख्ने भन्ने हो । क्वारेन्टाईनले जिवनशैलीमा ल्याउने सबैभन्दा ठुलो परिवर्तन भनेको यसले हिँडडुललाई बन्द गर्दछ । क्वारेन्टाईन र आईसोलेसनबीचको फरक आईसोलेसन भन्नाले कुनै पनि कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गरिने स्थान हो । उक्त व्यक्तिले अन्य कुनै पनि व्यक्तिलाई भाईरस नसारी निको हुनको लागि आईसोलेसनमा राखिन्छ ।
काेरोनाको आशंकामा रोनाल्डो सेल्फ क्वारेन्टाईनमा
काठमाडौं । कोरोना लागेको आशंकामा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका छन् । जुभेन्टसका कल्बका सहकर्मी खेलाडी डानिली रुगानीलाई कोरोना पोजेटिभ देखिएपछि रोनाल्डो सेल्फ क्वारेन्टाईनमा बसेका हुन् । उनीहरुले आईताबार एक गेमपछि ड्रेसिङ रुम सेयर गरेका थिए ।
बाँकेमा बालविवाह ६० प्रतिशत, रोकथाम चुनौतीपूर्ण बन्दै
नेपालगञ्ज । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ । बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो । केही समययता जिल्लाका केही सचेत युवायुवती किशोरी र बाल क्लबमार्फत जनचेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँकेमा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क नभए पनि बालविवाह बढ्दै गएको बालविवाहका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ । गत आर्थिक वर्ष जिल्ला प्रहरी कार्यालयमा लिखित र मौखिक गरी ५० बढी उजुरी परे पनि दोषीमाथि कानूनी कारवाही भएको पाइँदैन । “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भने । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए । बीस वर्षभन्दा कम उमेरमा विवाह गरे त्यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । यो प्रयासपछि बालविवाह केही मात्रामा न्यूनीकरण भए पनि पूर्णरुपमा रोकिन भने सकेको छैन । नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानको व्यवस्था छ । तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । जसका कारण बालविवाहाका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ । बाँके मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो । विशेष गरेर यो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ । तर कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्षमै विवाह गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् । रासस