गर्मी महिनामा फाउन्डेसन र बिबि क्रिमको प्रयोग कम गरौं, छालाको स्याहार यसरी गरौँ

काठमाडौं। सुन्दर छाला हरेक व्यक्तीको चाहना हो। आजको सोसियल मिडिया प्रेमी युगमा आफ्नो स्वरुप र सुन्दरताले जति प्राथमिकता पाएसँगै सुन्दर र स्वस्थ छाला प्रतिको मानिसहरुको सचेतना पनि बढ्दो छ। यधापी बढ्दै गएको वातवरण प्रदुषण र मौसमी विविधताले छालालाई थप असर पार्दै पनि गईरहेको छ। त्यसैले यस्तो वातवरणमा छालालाई स्वच्छ एवम् सुन्दर राख्न मानिसहरुले धेरै कुरामा ध्यान दिनु पर्छ। मानिसको खानपान, जीवनशैली, व्यवसाय, योग, घामको एक्सपोजर लगायत् दैनिक जीवनमा प्रयोग हुने कस्मेटिक्स् र क्रिमहरुको छालामा महत्वपुर्ण भूमिका छ। कस्मेटिक (cosmeceutical) र पोषणयुक्त आहार Neutraceutical को व्यापार चुलिएको औद्योगिक युगमा सहि खानेकुरा र कस्मेटिक्स् छान्न गाह्रो छ। अहिले बजारमा मकेअप र क्रिमहरु च्याउझैँ उत्पादन र बिक्री भैरहेका छन् तर यि सबै क्रिमहरु भने पक्कै पनि लाभदायी छैनन्। विशेष गरी गर्मी महिनामा फाउन्डेसन र बि.बि क्रिमहरुको व्यापक प्रयोगले गर्दा डन्डीफोर, चाया, पोतो र एलर्जी निम्त्याउँछन्। हिजोआज बजारमा उपलब्ध धेरै क्रिममा स्टिरोइड नामको कडा केमिकल मिसिएको पाइएको छ। मिसावट भएको क्रिम लगाउदा छाला बिग्रिन सक्छ। यसरी बिग्रिएको छाला संवेदनशील हुन्छ र यसलाई चिसो, तातो, हावा र अन्य कुराले छिटो एलर्जी गर्ने किसिमको हुन्छ। त्यसैले सही किसिमको क्रिम र आफ्नो छालालाई सुहाउँदो प्रकारको क्रिम छान्न चिकित्सकको परामर्श लिदा राम्रो हुन्छ। विज्ञापनको पछाडी नलागी आफ्नो छाला र छालाको प्रकृति हेरेर डाक्टरको सल्लाह अनुसारको कस्मेटिक्सको नियमित प्रयोगले धेरै पैसा खर्च नगरी छालाको उचित स्याहार गर्न सकिन्छ। छालालाई आवश्यक सामाग्री : छालाको लागि आवश्यक र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने क्रिमहरु सनस्क्रिन, फेसवास, भिटामिन सि सिरम ,रेटिनोल र मोइस्चुराइजर् पर्छन्।सनस्क्रिनको नियमित प्रयोगले घामबाट हुने पोतो, दाग एलर्जी, चाउरी र क्यान्सरबाट जोगाउँछ। सम्पूर्ण सरक्षाका लागि ब्रोड स्पेक्ट्रम सनस्क्रिन दिनको ३ पटक १-१ चम्चा अनुपातमा प्रयोग गर्नुपर्छ। धेरै सनस्क्रिनमा सानो पाउडरयुक्त रसायन हुनाले सनस्क्रिन लगाउदा धेरै माड्न हुदैन। कसैकसैलाई माडेर लगाउदा एलर्जी हुन सक्छ। कसरी स्याहार गर्ने ? छालालाई स्वस्थ राख्न जहिले पनि साँझ सफा गरेर धुन पर्दछ र सबै मकेअप पुस्नु पर्छ। दिनभरिको विकारक तत्वले अनुहारका स- साना नली(pores) थुनिने हुनाले फेसवास अत्यनत जरुरी छ। प्रदुषण र धुलोबाट जोगिन फेसवास प्रयोग गर्नुपर्छ। छालाको सतहमा १-२ मिनेट मात्र रहने फेसवासको प्रमुख काम छालाको सफाई गर्नु हो। पानीले मात्रमुख धुँदा सबै विकार र प्रदुषणका कण फाल्न सक्दैन। त्यसैले फेसवास र नरम किसिमका क्लेनजरले पानीले मात्र नजाने तैलिय विकारक केमिकललाई अनुहारबाट फाल्छन्। फेसवास किन्दा आफ्नो छाला अनुसार किन्दा फाइदा छ। तैलिए छाला हुनेले जेल बेसको फेसवास प्रयोग गर्ने र सुख्खा छाला हुनेले क्रिम बेसको फेसवास प्रयोग गर्ने हो। फेसवासले छालाको बिकारसंगै हामीलाई चाहिने छालाको स्वास्थ्यबर्दक प्राकृतिक तेल पनि फाल्न सक्छ।त्यसैले दिनमा एक पटक मात्र साझमा जेन्टल फेसवास प्रयोग गर्नु पर्छ। सकेसम्म छालाको तेलको सतहलाई विगार्ने एसिडयुक्त फेसवास प्रयोग नगरेको राम्रो हो तर धेरै चिल्लो छाला हुने र डन्डीफोर हुने व्यक्तिले यस किसिमका एसिडयुक्त फेसवास प्रयोग गरेमा , त्यसपछि मोइस्चुराइजर् क्रिम लगाउनुपर्छ। यसरी नै राति सुत्ने बेला के-के लगाउने भन्न कुरा धेरैले सोध्छन्। राति मुख धोएर सफा भएपछी भिटामिन सि सिरम लगाउने अनि हाइरोनिक एसिड क्रिम लगाउने हो। २० वर्ष उमेर कटेपछि छालामा कोलाजेन सतह घट्दै जाने हुनाले यो उमेरपछि रेटिनोल अथवा भिटामिन ए क्रिम राति नै लगाउन जरुरी छ। दिनहुँ राति भिटामिन सि युक्त क्रिम लगाउनाले धेरै कोलाजन सतह बनाउने कुरा रिसर्चले देखाएको छ। यसले छालाको सतह बाक्लो र जवान राख्न मद्दत गर्छ। लामो अन्तरालमा चाउरी पर्न दिदैन। यसरी नै छालाका क्रिमहरु लगायत पोषणयुक्त खानेकुराले पनि छालालाई सुन्दर र स्वास्थ्य राखन ठुलो भूमिका निर्वाह गर्छ। सोया मील्क, सोयाविन, क्याल्सियम, आइरन, जिङ्क, प्रोवायोटिक, दहि, वॊलिभ आयल, ग्रीनटी, गाजर, हरियो काउली, बदाम, वाइन, फर्सीको सीड, माछाको तेल, कागती, कटहर, अंगुर इत्यादी खानाले कपाल र छाला स्वस्थ राख्न मद्दत गर्छ भने धेरै कर्बोहाइडेट रहेका खानेकुराले छालाका विभिन्न समस्या निम्त्याउने कुरा रिसर्चहरुले पुष्टि गरेका छन्। यसै गरि अनुहारमा डन्डीफोर आउँदा कहिले पनि कोट्त्त्यौनु हुँदैन, यसो गर्नाले अनुहारमा दाग र खाटा बस्ने हुन्छ र छाला अस्वस्थ देखिन्छ। बरु चिकित्सकको सल्लाह लिएर यी समस्याको समाधान गर्न सकिन्छ। साथै चाया र पॊतोबाट जोगिनको लागि घामबाट बच्नु अत्यन्त जरूरी छ। चिकित्सककै सल्लाह बमोजिमको सामान प्रयोग गर्दा अझ लाभदायी हुने गरेको पाइन्छ। नियमित व्यायम र स्वस्थ खानपानले पनि छालालै स्वस्थ राख्न मद्दत पुर्याउँछ।

प्लास्टिकमुक्त शहर बनाउने अभियानमा लाग्याे नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पुर्याउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर र यसको निकासका लागि ‘ऐना फोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरिएको फोहरमैला व्यवस्थापन ऐनले प्लास्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । सो ऐनलाई अद्यावधिक गर्नुपर्ने अवस्था भए पनि यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन । “नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन, नियम बनाउनेदेखि संशोधनसम्म गर्ने, बजेट विनियोजन गर्नेलगायत सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिनेछ”, नगरप्रमुख डा. धवलशम्शेर राणाको भनाइ थियो । अभियानअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लास्टिकजन्य फोहर सङ्कलन पनि गरिरहे छन् । प्लास्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने गरिएको छैन । उपमहानगरपालिकाले विशेषगरी पोलिथिन प्रयोग नियन्त्रण र कपडा तथा कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहे पनि प्लास्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन । “प्लास्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ”, नगरप्रमुख राणाको भनाइ थियो, “वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।” प्लास्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । “यो योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लग्न जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुपर्दछ । अनि मात्र प्लास्टिकजन्य फोहरमुक्त शहर निर्माण गर्न सक्छौ,” उनले भने । रासस

अब नेपाली सेनाबाहेक सर्वसाधारणले ‘कम्ब्याक्ट’ पोशाक लगाउन नपाउने

काभ्रपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गैरसैनिकलाई ‘कम्ब्याक्ट’ पोशाक निषेध गरेको छ । कार्यालयले गैरसैनिकलाई कम्ब्याक्ट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशनसमेत दिएको हो । नेपाली सेनाका सकल दर्जाले लगाउने कम्ब्याक्ट पोशाक स्थानीय बजारमा सहज रूपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले ‘फेशन’का रूपमा प्रयोग गरेकाले यसलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिएका छन् जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको बैठकमा उनले भने, “यो कुनै पार्टी विशेष जस्तो पनि देखिने हुँदा सर्वसाधारण अर्थात् गैरसैनिकलाई यस्तो पोशाक लगाउनबाट रोकिन्छ, तपाईंहरुले आ–आफ्नो क्षेत्रमा कडाइका साथ लागू गर्नुस् ।” प्रजिअ रानामगरले सदरमुकाम धुलिखेलमा कम्ब्याक्ट पोशाक लगाएर दुर्गमबाट आएका दुई जनालाई सचेत गराइएको बताए । “नजिकै घर भएको भए तुरुन्तै फेर्न लगाइन्थ्यो, टाढा भएकाले सचेत मात्रै गराइयो”, उनले भने । उनले आफ्नो क्षेत्रमा यस्ता व्यक्ति देखिए तुरुन्तै फेर्न लगाउने नभए नजिकको प्रहरीलाई खबर गर्न कार्यालय प्रमुखलाई आग्रह गरेका हुन्। गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा कम्ब्याक्ट पोशाक निषेध गरिएको कार्यालयले जनाएको छ । जिल्लास्थित पसलमा स्टक रहेका कम्ब्याक्ट पोशाक (जुत्तासमेत) खरिद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत आग्रह गरिएको छ । केन्द्र सरकारको नीतिअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनि कम्ब्याक्ट पोशाक निषेध गरिएको प्रजिअ रानामगरले बताएका छन् । नेपाली सेनाले आफ्नो पोशाकको दरुपयोग गरी सर्वसाधारण, विभिन्न निजी सेक्युरिटी कम्पनी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिले लगाएपछि गत साउनमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई गैरसैनिकलाई कम्ब्याक्ट पोशाक निषेध गर्न परिपत्र गरेको थियो । रासस