खुट्टा एउटा मात्रै भए पनि सुन्दर नृत्य गर्ने सरिताको डाक्टरलाई प्रश्न, ‘म बाँच्दिन भन्नु भएको होइन ?’

काठमाडौँ । फुलबुट्टे गुन्यु र रातो चोली । शिरमा रातो फूल अनि शिरबन्दी। हातमा बैशाखी र मुहारमा मीठो मुस्कान । एकजना महिलाको सहयोगमा उनी स्टेजको बीच भागमा आईपुगिन् । नेपथ्यमा गीत बज्यो ‘मै छोरी सुन्दरी, कसरी भरु पानी ।’ सँगै आएको सहयोगी बहिनीले उनको बैशाखी स्टेजबाट आँफैसँग लगिन् । अनि त्यहाँ जे देखियो, त्यसले सबैको मनलाई एउटा खुशीको अनुभूति गरायो । नेपाल क्यान्सर अस्पतालले केही दिन अघि आयोजना गरेको चाईल्ड र्याम्प शो कार्यक्रममा देखिएको दृश्य हो यो । संसारमा यति धेरै मानिसहरु छौं, जो आफ्नो खुट्टा राम्रो अवस्थामा हुँदाहुँदै पनि नाच्नलाई राम्रोसँग खुट्टा चलाउन जान्दैनौं । तर, ती बहिनीले यसरी नाचिन कि सायद कहिले पनि ननाचेको व्यक्तिलाई पनि नाँचौ नाँचौ भयो । एउटा खुट्टा नभएकी र भएको एउटा खुट्टा कै सहारामा कार्यक्रममा उपस्थित दर्शकहरुको मन लोभ्याउने ती व्यक्ति हुन् सरिता मगर । धादिङ जिल्ला घर भएकी १८ वर्षीय सरितालाई १० बर्षको हुँदा एक्कासी बायाँ खुट्टामा गाँठा आयो । उनको सम्झना अनुसार त्यो चैते दशैँको समय थियो। गाँठो आएपनि केही असजिलो भएको थिएन । तर पनि उनले आफ्नो आमासँग नजिकैको सानो अस्पतालमा गएर जाँच गराईन् । १ महिनासम्म कुरिन्, तर रिपोर्ट नै आएन । उनको बुवाआमालाई डर लाग्यो । त्यसैले उनीहरु समय मिलाएर जाँच गराउन काठमाडौं आईहाले । सबैभन्दा पहिला उनी कान्ति बाल अस्पताल आईन् । त्यहाँबाट उनलाई टिचिङ अस्पतालमा रिफर गरियो । अस्पतालले सरिताको खुट्टाको क्यान्सर भएको घोषणा गर्यो । सायद सरिता र उनका आमबुबाले यो कुरा सोचेकै थिएनन् । खुट्टामा क्यान्सर भएको थाहापाएपछि सरिताकी आमा रुइन्, आमसँगै सरिता पनि रोइन्, अस्पतालले सरिताको खुट्टा काट्नु भन्ने सल्लाह दियो, तर सरिताका आमाबुवालाई आफ्नो छोरीको खुट्टा त्यति सजिलै काट्न मन लागेन । त्यसैले उनीहरु पहिला औषधी उपचारबाट प्रयास गरौं भन्ने मनसाय लिएर भरतपुर अस्पताल पुगे । औषधी मार्फत उपचार गर्ने क्रममा अन्त्यमा सरिताले आफ्नो खुट्टा काट्नु पर्यो र २ बर्ष पछि १२ बर्षको उमेरमा धुलिखेल अस्पतालमा उनको खुट्टा काटियो । उपचारको क्रममा एकपटक उनी बाँच्छिन् भनेर परिवार र आफन्त सबैले आशा गुमाइसकेका थिए । डाक्टरले पनि अब उनी बाँच्छिन् भन्ने आशा नगर्नु भनेका थिए । सरिता भन्छिन्, ‘गाउँघरको सबैले यो त मर्छे भनेका थियो, तर आमाले मात्र हरेस खानु भएको थिएन ।’ तर आज उनी स्वस्थ छिन् र बाँचिरहेकी छिन् । सबैले उनलाई दोस्रो जन्म लिएको भन्छन् । उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको डाक्टरलाई सोध्छिन्-‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् । सरिताको बुवा आमा तरकारी खेती गर्छन् । उपचारको क्रममा उनीहरुको लाखौँ खर्च भयो । आमाबुवाले धेरैसँग सापटी लिएर उनको उपचार गराइ छाडे । उनका काका र मामाहरुले पनि उनको उपचारमा धेरै सहयोग गरेको उनी बताउँछिन् । उनी अहिले फलोअपका लागि समयसमयमा अस्पताल गएको बेला डाक्टरलाई भेट्छिन् । डाक्टरलाई सोध्छिन् –‘म बाँच्दिन भन्नु भएको होइन ?’ डाक्टर मात्र मुस्कुराउँछन् । सरितालाई पहिला पहिला मानिसहरुसँग बोल्न, घुलमिल हुन साह्रै गार्हो लाग्थ्यो, तर उनलाई अहिले कसैसँग पनि बोल्न डर लाग्दैन । उनले साथी पनि काठमाडौं आएर धेरै बनाईसकेकी छिन् । यस्तै उनी समय समयमा आफै नै भरतपुर अस्पतालमा फलोअपका जान्छिन् । सरिता अहिले चाबाहिलको होस्टलमा बस्छिन् । त्यहाँ उनी जस्ता धेरै बालबालिकाहरु छन् । चाबाहिलको सुप्रिम ईन्टरनेसनल स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी सरितालाई फिल्ममा खेल्ने ठूलो ईच्छा छ । उनले ८ बर्षको उमेरमा पहिलो पटक फिल्म ‘गोर्खा पल्टन’ हेरेकी थिईन् । त्यसपछी उनलाई फिल्म खेल्ने ठूलो ईच्छा जाग्यो । बाँया खुट्टा काट्ने बेला उनलाई आफ्नो सपनाको खुब माया लागेर आयो । उनलाई अब आफ्नो सपना त्याग्नु बाहेक बिकल्प देखेकी थिईनन्, तर अहिले उनलाई त्यस्तो लाग्दैन । त्यही सपनालाई पूरा गर्न अहिले सरिता नृत्यलाई आत्मासाथ गरेर अगाडि बढ्ने कोसिसमा छिन् । उनी एउटा खुट्टा कै सहारामा फिल्मी क्षेत्रमा आफ्नो पाइला राख्न चाहन्छिन् । सरिता बर्षमा एकपटक घर जान्छिन् । उनलाई सबैले माया गर्छन् । उनलाई सानासाना भाईबहिनीले जिस्काउने गर्छन्, तर बालबालिकाको बोलीले कत्ति पनि चित्त दुखाउँदिनन् । उनलाई आफ्नो खुट्टा काटिनु परेकोमा पनि केही दुःख छैन । उनी भन्छिन्, ‘मलाई कहिले अरु भन्दा कमजोर महसुस भएन किनभने म उनीहरु भन्दा चाँडो हिंड्न सक्छु ।’  

आज गाईजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही कूपछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्य व्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् । हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडोँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लागेको छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् । रासस