गाैशाला बनाउन गरिएकाे महायज्ञमा डेढ करोडको दान सङ्कलन

रामपुर । यहाँ सञ्चालन भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञमा करिब रु डेढ करोड बराबरको दान सङ्कलन भएको छ । गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको महायज्ञमा नगद तथा भूमिदान गरी रु एक करोड ४७ लाख ४७ हजार ८२९ बराबर दान सङ्कलन भएको मूल आयोजक समितिले जनाएको छ । यही फागुन १२ देखि २० गतेसम्म सञ्चालन भएको महायज्ञको अन्तिम दिन मात्रै रु ३१ लाख ९१ हजार ८२७ दान सङ्कलन भएको श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताए । उनले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वलाई धन्यवाद दिएका छन् । गाई संरक्षण तथा धर्मशाला निर्माण सहयोगार्थका सम्पन्न सो महायज्ञ यहाँ हुने अन्य महायज्ञभन्दा फरक शैलीमा भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिए । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपाने कथावाचन गरेका थिए । गौशाला निर्माण गरी गाईको व्यवस्थापन गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । वडा नं ६ को कार्यालय परिसरमा गत साउनबाट यता अस्थायी टहरा बनाएर व्यवस्थापन गरिएको थियो । गौशालाको संरचना तयार भएपछि फागुनको पहिलो हप्तादेखि गौशाला परिसरमा गाईहरू बाँध्न थालिएको छ ।

थाइल्याण्ड विरुद्ध नेपालको जित

काठमाडौं । एसीसी इस्टर्न टी–२० क्रिकेटमा थाइल्याण्ड विरुद्ध नेपालको जित भएको छ । ६७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्ल र पवन सर्राफले बिस्फोटक ब्याटिङ गर्दै ५‍.३ ओभरमा नौ विकेट जित निकालेका हुन् । ओपनिङमा आएका कुशलले अविजित रहँदै १८ बलमा ३६ रन जोडे । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । कुशलसँग राम्रो साझेदारी गरेको पवन सर्राफले पनि बिस्फोटक ब्याटिङ गरे । उनले दश बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारस खड्का भने पाँच बल खर्चिदै १० रन जोडेर आउट भएका थिए । टस जितेर फिल्डिङ रोजेको थाइल्याण्डले अलआउट हुँदै ६६ रन जोडेको थियो । नेपालका लागि करण केसीले तीन, अविनास बोहोराले दुई, सन्दीप लामिछानेले एक र भुवन कार्कीले एक विकेट लिए । नेपालको राष्ट्रिय टीममा भुवन कार्कीले भने शानदार डेब्यू गरेका छन् । थाइल्याण्ड विरुद्ध डेब्यू गरेका उनले पुरा चार ओभर बलिङ गर्दै ६ रन खर्चिएर एक विकेट लिएका छन् ।

कोराेना प्रभाव : राष्ट्रिय साहित्य सम्मेलन स्थगित

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ गतेदेखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण सभा–सम्मेलन नगर्न सरकारले निर्देशन जारी गरेपछि प्रतिष्ठानले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी साहित्य सम्मेलन स्थगन भएको जानकारी गराएको हो । ‘भाषा, साहित्य र संस्कृतिको उत्थान : साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रतिष्ठानले आयोजना गर्न लागेको साहित्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगे पनि हाललाई उक्त कार्यक्रम स्थगन गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । साहित्य सम्मेलनका लागि स्वदेश र विदेशबाट गरी २३७ वटा कविता प्राप्त भइसकेको थियो । “सम्मेलनको पूर्ण तयारी भइसकेको अवस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएको र नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी सभा–सम्मेलन आयोजना नगर्न निर्देशन जारी गरेको छ”, प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोही कारण हाललाई साहित्य सम्मेलन स्थगित भएको छ ।” साहित्य सम्मेलनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै अनुकूल समयमा सम्मेलन आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । सतर्कता अपनाउन प्रशासनको अपिल जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सतर्कतामा जोड दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्रशासनले कोरोना भाइरसको सङ्क्रमणबाट जोखिमलाई मध्यनजर गर्दै भीडभाड तथा मानिसको अत्याधिक जमघट हुने स्थानमा नजान र व्यक्तिगतरूपमा नियमित सरसफाइमा ध्यान दिन आग्रह गरेको हो । प्रशासनले तनहुँ जिल्लामा हुन गइरहेको तीनदिने सनातन धर्म सांस्कृतिक विषयक अन्तर्राष्ट्रिय सम्मेलन तथा ठूला सभा, सम्मेलन, महोत्सव, महायज्ञ, भेला, भोजभतेरका लागि अत्यधिक मानिसको जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । कार्यालयले सबै स्थानीय तहहरुले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न, निरन्तर रुघाखोकी, ज्वरोको सङ्क्रमण देखिएमा तुरुन्त स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परीक्षण गराउनसमेत अनुरोध गरेको छ । रासस