काेराेनासँगै आगलागीका डरले रातैभरि जाग्राम

काठमाडौं । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ डढेलो बढेसँगै यहाँका २० भन्दा बढी बस्तीका बासिन्दा आगलागीको डरले राति सुत्न नसकेका हुन् । पूर्वपश्चिम राजमार्गको दायाँबायाँ रहेको वनक्षेत्रमा दिनहुँ डढेलो बढ्दै गएपछि यससँगै जोडिएका जिल्लाका बर्दिवास र गौशाला नगरपालिकाका २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा परेका यहाँका बासिन्दाको गुनासो छ । हुरीबतासको मौसममा डढेलोको क्रम रोकिएको छैन । यसले बस्ती भेट्ने डरले आपूmहरु अचेल केही दिनयता रातैभरि जाग्राम बसेर कटाउँदै आएका वनसँगै जोडिएको गौशाला–८ बेलगाछीको ढल्केवर बस्तीकी गृहिणी मञ्जु मञ्जरीले बताए । जताततै आगलागीले ठूलो क्षति गरेका खबर सुन्न थालिएपछि झन् बढी त्रास बढेको यहाँका बासिन्दा बताउँछन् । “साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ”, मञ्जरीले भने, “कसरी निदाउन सक्नु रु” आफूहरु साना लालाबाला काखमा च्यापेर जागेरै रात कटाउने गरेका मञ्जरीसहितका ढल्केवरका बासिन्दाको भनाइ छ । वनसँगै जोडिएको बर्दिवास–५ गणन्ता बस्तीका सामाजिक कार्यकर्ता कारमान स्याङ्वाले भने, “अहिले कोरोनाको त्रासले आम मानिस घरघरै लकडाउनमा छन्, सुरक्षा गस्ती पनि कम भएको छ”, स्याङ्वाले भने, “यस्तो अप्ठ्यारो बेला पनि डढेलो भने रोकिएन ।” पछिल्लो दुई सातायता वनक्षेत्रमा बढेको डढेलो लगाउने क्रमले बस्तीमा आगलागीको जोखिम बढेसँगै बहुमूल्य काठ हुने साखुका नयाँ लाथ्रा (भर्खरका कलिला रुख) डढेर खरानी बनेका स्याङ्वासहितका गणन्तावासी बताउँछन् । बर्दिवास–१, ३, ४, ५, ८, १० र ११ मा वनसँगै जोडिएका २० भन्दा बढी बस्ती छन् । वनमा डढेलो देखिनासाथ आगलागीको डरले मुटु काम्ने गरेको बर्दिवास–५ सोनापेटी बस्तीकी १७ वर्षीया किशोरी सानीमाया तामाङ बताउछिन् । बर्दिवासकै वडा नं २ र १४ पनि वनक्षेत्रसँग सीमा जोडिएका छन् । यसैगरी गौशाला नगरपालिकाका रामनगर, बेलगाछी, भाण्टाबारी, ढल्केवर, बटुवा, लक्ष्मीनियाँ र कान्तीबजार वनक्षेत्रसँगै जोडिएका बस्ती हुन् । वनक्षेत्रमा डढेलो देखिनासाथै बस्तीमा त्रास छाउने गरेको बटुवाका बासिन्दा सूर्यनारायण महतो बताए । पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको दायाँबायाँ गरी सागरनाथ वन विकास परियोजना, धार्मिक वन, साझेदारी वनक्षेत्र र सामुदायिक वनक्षेत्र गरी अहिले १६ हजार हेक्टर क्षेत्रफलमा वन कायम छ । यसअघि विभिन्न समयमा भएका अतिक्रमण, चोरीतस्करी र डढेलोले आठ हजार हेक्टर क्षेत्रफलको वन उजाड भइसकेको बर्दिवास–५ का वडाध्यक्ष दलबहादुर थापामगरले भने । खासमा वनक्षेत्रमा देखिने डढेलोचाहिँ यससँगै जोडिएका बस्तीबाट घाँस–दाउरा गर्न र वस्तु चराउन आउने गोठालाले लगाउने गरेका बूढापाकाको भनाइ छ । वनमा रुखबिरुवाले पुराना पात झारेर नयाँ मुना पलाउने बेलामै डढेलो देखिने गरेको छ । यतिखेर सुकेर झरेका पतिङ्गरमा डढेलो लगाए त्यसपछि वर्षा हुनासाथ राम्रो घाँस पलाउने र चरण बढ्ने आसले घाँसे र गोठालाले डढेलो लगाउने गरेका गौशाला–१ का ६५ वर्षीय चन्देश्वर महतो बताए । यद्यपि कहिलेकाहीँ हावाहुरीबीच रुखरुखबीच हुने घर्षणले पनि डढेलो लाग्नसक्ने महतोको भनाइ छ । पछिल्लो कालमा वन सुरक्षा गस्तीको लापरवाहीले डढेलो नियन्त्रण हुन नसकेको यहाँका (बर्दिवास र गौशालाका) बासिन्दा बताउँछन् । वर्षेनी डढेलोको चपेटामा वन परिरहे पनि अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही गरेको थाहा नपाइएको बटुवाका सामाजिक कार्यकर्ता ७० वर्षीय लक्ष्मी महतोले जानकारी दिइन । यसैबीच डिभिजन वन कार्यालय महोत्तरीले भने वनक्षेत्रमा सुरक्षा गस्ती झन् बढाइएको जनाएको छ । “कार्यालयसँग रहेको जनशक्ति हामीले गस्तीमा पठाइरहेका छौं”, डिभिजन प्रमुख हेमन्तप्रसाद साहले भने । रासस

किटनासक औषधि छर्न सौरभ ज्योतिले दिए ७ लाख बराबरको ब्याकप्याक स्प्रेयर

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले कोरोना महामारी विरुद्धको यस महायुद्ध जित्नको निमित्त सहयोगको अर्को कदम अघि बढाएको छ । हाण्डाले सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नको निमित्त ७ लाख रुपैयाँ बराबरको १० थान होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सहयोग स्वरुप प्रदान गरेको छ । अहिलेको यस विषम परिस्थितीमा कोरोना भाईरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. का अध्यक्ष सौरभ ज्योतिले मंगलबार एक कार्यक्रम माझ नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उक्त सहयोग प्रदान गरेका हुन् । यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

काठमाडाैं ।  दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण सबै राजनीतिक दलका प्रतिनिधि, बौद्धनाथ क्षेत्र विकास समिति, महानगरीय प्रहरी वृत्त बौद्धलगायत सरोकार भएका निकायका अधिकारीको बैठकले जात्रा स्थगित गरिएको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकीदेखि नै बौद्ध चैत्यमा आई दीयो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा वर्षेनी लाखौँ भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बाल्ने गर्थे । पूर्णिमाका दिन बिहानसम्म बौद्धमा बत्ती बाली बालाजु २२ धारा स्नान गरेर जामाचो, स्वयम्भूलगायत तीर्थस्थलमा दर्शन गर्ने विधि छ । यो विधि पनि यसपटक प्रभावित भएको छ । बौद्ध चैत्यमा लामा गुरुले गर्ने पूजा पाठलगायत नित्य कर्म भने विधिपूर्वक सम्पन्न गरिएको वडाध्यक्ष लामाले भने । बालाजु २२ धारामा स्नान गरेरमा पाप पखालिई पूण्य कमाइने धार्मिक विश्वाससमेत छ । जामाचो उपत्यका नजिकको पदमार्गका रुपमा समेत स्थापित भएको छ । जहाँ चैत्र शुक्ल पूर्णिमाकै अवसरमा धेरै धार्मिक पर्यटक पुग्ने गर्थे । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलले विसं १८१९ मा तेमाल जात्रालाई राजकीय मान्यता दिई जात्रा मनाउन प्रजालाई बौद्ध क्षेत्रमा पठाएको इतिहास छ । कार्तिक शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोकको नमोबुद्ध, मार्गशीर्ष शुक्ल पूर्णिमामा काभ्रेपलाञ्चोककै धनेश्वर र चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा लाग्ने तेमाल जात्राका बीचमा सम्बन्ध रहने गरेको समितिका कार्यकारी निर्देशक वसन्त लामा बताए । जामाचो जान चैत्र शुक्ल पूर्णिमाका दिन मात्र रानीवनस्थित नेपाली सेनाको चेकपोष्ट खुल्ने गरेको छ । जामाचोको ३५ मिटर तलको गुफामा बुद्ध ध्यान गरेर बसेको मूर्ति पनि यहाँ जाने दर्शनार्थीका साथै स्वदेशी एवं विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ । जामाचो जान हाल जीपलगायत सवारी जानसक्ने मोटरबाटो भए पनि बाइसधाराबाट छोटो बाटो हिँडेरसमेत जानसकिने समितिका कार्यकारी निर्देशक लामाले बताए । सत्ययुगमा विपश्वी बुद्धले जामाचोबाट उपत्यकाको दहमा कमलको फूल रोपेपछि त्यहीँबाट स्वयम्भू ज्योतिको उत्पत्ति भएको बौद्ध धार्मिक मत छ । त्यही बेलादेखि चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने परम्परा शुरु भएको हो ।