गृहमन्त्री थापाले भने,‘समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौं’

काठमाडौं । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए । राष्ट्रिय समाचार समिति ९रासस० लाई विशेष अन्तरवार्ता दिनुहुँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको समय बढाइने जनाए । सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो । लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । रासससँगको कुराकानीका क्रममा गृहमन्त्री थापाले भने, “लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।” उनले यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी ९लकडाउन० को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय समेत गरेको थियो । समग्र अवस्थाको मूल्याङ्कन गरेर नागरिकको स्वास्थ्य अवस्थालाई समेत केन्द्रमा राखेर महत्वपूर्ण निर्णय लिइने मन्त्री थापाले जानकारी दिए । कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न सङ्घीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड– १९ को सङ्क्रमण भएको छ । यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ । यस्तै सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पताललाई कोरोना उपचारका लागि ‘डेडिकेटेड’ अस्पतालका रुपमा तोकेर आवश्यक साधान तथा स्रोत उपलब्ध गराइएको उल्लेख गर्दै गृहमन्त्री थापाले विपद्को समयमा सुरक्षा निकायको भूमिका थप महत्वपूर्ण हुने बताए । अस्पतालका लागि चिकित्सक एवं अन्य कर्मचारीको प्रबन्ध भएको, स्वास्थ्य सामग्री तथा उपकरणको समेत प्रबन्ध भएको जानकारी दिँदै उनले विपद्को समयमा नागरिकको सुरक्षा र अन्य प्रबन्धका लागिसमेत सुरक्षा निकाय नै अग्रमोर्चामा रहेर काम गर्ने स्पष्ट पारे । लकडाउनको समयमा अनावश्यक आवागमन रोक्नका लागि नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप परिचालन गरिएको उल्लेख गर्दै उनले मुलुकभित्र पनि महत्वपूर्ण भूमिकामा नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक मात्रामा परिचालन गरिएको बताए । नागरिकलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनसमेत सुरक्षा निकायले सहयोग गरेकाले लकडाउन उल्लङ्घन नगर्न सबैलाई आग्रह गरे । “आफ्नो र परिवारको स्वास्थ्यका लागिसमेत सबै नागरिक आफू आफैँमा जिम्मेवार हुनुपर्छ । कुनै अत्यावश्यक सामग्री खरिद तथा अन्य कुनै अत्यावश्यक काम परेको खण्डमा नजिकको सुरक्षाकर्मीको सहयोग लिन म आग्रह गर्दछु”, गृहमन्त्री थापाले भने । खाना पकाउने ग्यास तथा दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न र सहज आपूर्तिका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका अनुमगन समिति बनाइएको र सो समितिले दैनिक जसो नै प्रतिवेदन दिने गरेको र सोही प्रतिवेदनका आधारमा सरकारले आवश्यक निर्णयसमेत गर्ने गरेको उनको भनाइ छ । गृहमन्त्री थापाले लकडाउनको समयमा देशभित्रको समग्र शान्ति सुरक्षाको अवस्थासमेत मजबूत रहेको बताए । रासस

कोभिड–१९: तराईमा कोरोना सङ्क्रमित, पहाडमा त्रास

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरका तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि यहाँका अन्य जिल्लामा त्रास बढ्न थालेको छ । भारतबाट काम गरी फर्किएका नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि यहाँका पहाडी जिल्ला डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दाुर्चला र डडेल्धुराका स्थानीयमा त्रास बढ्न थालेको हो । यहाँका पहाडी जिल्लाबाट कामका लागि वर्षेनी बढीभन्दा बढी स्थानीयवासी भारततर्फ जानेको गरेको र अहिले पनि कामका लागि भारततर्फ गएका नेपालीहरु सीमावर्ती विभिन्न नाकाबाट फर्किने क्रम जारी राखेकाले स्थानीयवासीमा त्रास बढ्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी किरण भण्डारीले बताए । उनले भने, “भारतबाट आएकामा कोरोना देखिन थाल्यो, हाम्रो गाउँका पनि धेरै जना भारतबाट आएका छन्, गाउँमा कोरोना आएको छ की भन्ने चिन्ता लाग्दै छ ।” सुदूरपश्चिम प्रदेशमा शनिबार देखिएका सङ्क्रमितमध्ये दुई कैलाली र एक कञ्चनपुर जिल्लाका रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । सङ्क्रमितमध्ये दुईजना भारतबाट रोजगारी गरेर फर्किका युवा भएकाले उनीहरुको साथमा आएका अन्य नागरिकमा पनि कोरोनाको सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा डोटीका गाउँमा त्रास फैलिने अवस्था सिर्जना भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए । उनले भने, “हुलका हुल मान्छे भारतबाट आएका छन्, कसैमा कोरोना देखिन थालेको छ, त्यही कारणले पनि अन्य नागरिकमा चिन्ता बढ्न थालेको हो ।” सङ्क्रमणको पुष्टि भएका कैलालीका २१ वर्षीय युवा चैत ११ गते लकडाउनपछि गौरीफण्टामा थुनिएका ९९९ मध्येका एक भएको खुल्नमा आएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । उनीहरुसँगै डोटी आएका केही व्यक्तिलाई जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा राखिएको भए पनि सबै नागरिक क्वारेन्टाइनमा नभएका कारण पनि समस्या हुनसक्ने भन्दै यहाँका पहाडी जिल्लामा त्रास बढ्न थालेको स्थानीयवासी बताउँछन् । डोटीमा मात्रै चैत ११ गते यता भारतबाट आएका ४३४ जना क्वारेन्टाइनमा छन् । लकडाउनभन्दा अगाडि आएका सयौँ युवा गाउँगाउँ पसिसकेका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेका नागरिकको खोजी कार्य गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए । उनले भने, “लकडाउनभन्दा पहिले जिल्ला प्रवेश गरेकाको खोजीकार्य शुरु गरेका छौं, सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने छौं ।” जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि सम्पूर्ण तयारी पूरा गरिसकेकाले कोही कसैले डराउनुपर्ने अवस्था नरहेको प्रजिअ पौडेलले जानकारी दिए । जिल्लामा अहिलेसम्म कोरोनाको शङ्कास्पद बिरामी भेटिएका छैनन् । जिल्ला अस्पताल डोटीका अनुसार हालसम्म तीनको स्वाब परीक्षण गरिएको भए पनि सबैको नतिजा ‘नेगेटिभ’ आएको छ । कैलाली र कञ्चनपुरमा चारजना सङ्क्रमितको पुष्टि भएपछि सतर्कता बढाउने प्रयत्न सरोकारवालाले गरिरहेका छन् । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा आइसोलेसन कक्ष बढाउन थालिएको छ । जिल्ला अस्पतालमा अहिले १० वटा आइसोलेसन कक्ष बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए । उनले भने, “कोरोना नियन्त्रणका लागि हामी निकै सजग भएका छौँ, सोहीअनुरुप अस्पतालमा कक्षको सङ्ख्यासमेत थप गरेका छौँ ।” जिल्लामा रहेका निजी अस्पतालमा पनि अवस्थाअनुसार आइसोलेसन कक्ष बढाउने तयारी गर्न निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । रासस

जनजागरण सामुदायिक पुस्तकालयले कोरोना विपद व्यवस्थापन समितिलाई दियो १८ थान पीपीई

काठमाडौं । श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रले कोरोना विपद व्यवस्थापन समितिलाई १८ थान पीपीई हस्तान्तरण गरेको छ । पुस्तकालयले बेलकोटगढी नगरपालिका वडा नं. १, २ र ३ तथा ककनी गाउँपालिका वडा नं. ३ तथा धुनिवेशी नगरपालिका वडा नं. ४ का कोरोना महामारी विपद समितलाई पीपीई सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको यस पुस्तकालयले कोरोना भाइरस(कोभिड १९) को रोकथाम तथा नियन्त्रणको पुर्व तयारीको लागि उक्त सहयोग गरेको हो । साथै, विश्वव्यापी रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणको लागि समाजमा आइपर्ने जे जस्तो समस्याको पनि साथ र सहयोग निरन्तर गरिने पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताए । विगतमा पनि सहयोग गर्दै आएको यस पुस्तकालयले समुदायमा अपाङ्गता समावेशी विपद जोखिम न्युनिकरण पर्वद्धन परियोजना अन्तर्गत समुदायमा विभिन्न विपद तयारी योजनाका कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तिमल्सिनाले जानकारी दिए । त्यस्तै, उक्त सामाग्री उपलब्ध गराउन सहयोग पुर्याउने राष्ट्रिय आविष्कार केन्द्र तथा डा. महाविर पुन, लायन्स क्लब इन्टरनेशनल 325B1 डिष्ट्रिक गर्भनर इन्दु लमसाल, डा. भुपेन्द्र बस्नेत, दिपक मुडभरी, सांसद बहादुर सिंह लामालाई पुस्तकालयले धन्यवाद दिएको छ ।