कामना सेवाले धनगढी उप-महानगरपालिकालाई दियो १ लाख बराबरको खाद्यान्न सामग्री
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चैत २० गते धनगढी उप-महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले धनगढी उप-महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी १ लाख रुपैयाँ बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको हो । बैंकका धनगढी शाखा प्रमुख हरी जोशी तथा अत्तरीया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप-महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप-प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरेका हुन् । प्रमुख वडले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति उप-महानगरपालिका तथा सम्पूर्ण नगरवासीहरुको तर्फबाट धन्यवाद दिँदै उक्त सामग्री उप-महानगरपालिकाको विपत व्यवस्थापन कोष मार्फत वितरण गरिने बताए । हाल नोबेल कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ ।
नेपाल लिकर्सद्वारा मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण
काठमाडाैं । नेपाल लिकर्स प्रालिले मोरङको बुढीगंगा गाउँपालिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी नेपाल लिकर्स प्रालिले राहत सामग्री हस्तान्तरण गरेको हाे। कम्पनीका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर राजेश वीर सिंह तुलाधरले गाउँपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । नेकपा बुढीगंगा गाउँ कमिटीको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो । नेपाल लिकर्स प्रालिले ५० बोरा चामल, २ बोरा नुन, ३ कार्टुन तेल गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई हस्तान्तरण गरिएको हो । राहत सामाग्री नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरेको जनाइएको छ । साहत सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष माझीले संकटको अवस्थामा हस्तान्तरण गरिएको राहतका लागि नेपाल लिकर्स प्रालिका अध्यक्ष तुलाधर, जनेरल म्यानेजर कलमप्रसाद सिटौलालाई धन्यवाद व्यक्त गरे । राहत हस्तान्तरणमा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार लगायतका विभिन्न वडाका वडाध्यक्षहरुसहितका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
लकडाउनमा के गर्दै छन् नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर ?
काठमाडौं । विश्वव्यापी महामारीकाे रूप लिइरहेकाे कोरोना भाइरसको माहामारी रोक्नका लागि नेपालमा पनि लकडाउन गरिएको छ । लकडाउनका कारण ठूला उद्योगीदेखि सर्वसाधारण मजदुरसम्म घरमै बसिरहेका छन् । सधैँ अति व्यस्त र सक्रिय रहने उद्योगीहरु लकडाउनको समयमा के गर्दैछन् ? कसरी दिन कटाउँदैछन् ? नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरकाे दिनचर्या लकडाउनले बदलिएको छ । लकडाउनभन्दा अगाडि दिनमा १०/१२ घन्टा व्यस्त हुने अध्यक्ष माेर आजभोलि घरपरिवारसँग नै दिन विताइरहेका छन् । उनलाई लकडाउनको समयमा उपभोक्तालाई अतिआवश्यक वस्तु कसरी पुर्याउने भन्ने चिन्ता छ । ‘परिसंघ आवश्यक वस्तुको कसरी व्यवस्थापन गर्ने भनेर लागिरहेको छ । परिसंघका सबैसगँ फोनमा नै सम्पर्कमा रहेर छलफल गरिरहने गरेका छन् । सबै साथीहरुलाई निजी क्षेत्रले सरकारलाई सक्ने सयोग गर्न भरिहेका छन्,’ अध्यक्ष माेरले विकासन्युजसँग भने । याे समयमा उनले उद्योगीहरुको गुनासा सुन्ने र उनीहरूका समस्याका विषयमा छलफल गर्ने गरेका छन् । बहिर हिड्न नमिले पनि उद्योगीहरुको समस्या बुझेर काम गरिहरका छन् । पहिले प्रत्यक्ष यस्ता कुराकानी हुन्थे भने अहिले फोनबाट हुने गरेको छ । मोर अत्यावश्यक अवस्थामा भने बाहिर पनि निस्कने गरेको बताउँछन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि सरकारले उद्योगीहरुसगँ बोलाएको छलफलमा भने जाने गरेका छन् । ‘फाेन आएको आएइ गर्छ । दिनमा नै ३/४ पटक फोन चार्ज गर्नु पर्छ । लकडाउनको समयमा सबैभन्दा धेरै फोन नै प्रयोग भइरहेकोले नै फोनको चार्ज चाडै सकिने गरेकाे छ,’ उनी भन्छन् । विश्वमा के भइरहेको छ भनेर बेलाबेलामा टिभी हेर्ने, अनलाइन पढ्ने पनि गर्ने गरेका छन् । यो बेला सेल्फ क्वारेन्टाइनमा बस्नु को विकल्प हुदैन । अहिले आत्मबल बढाउने बेला हो । कमजोर नबनौं । तर सरकारले यो बिपदका बेला गरेको आग्रहलाई पालना गरौं भन्ने उनकाे भनाइ छ ।