८ महिनामा ३३२ जनाको हत्या, असंवेदनशील बन्दै समाज
घटना-१ : पाटन दरबार स्क्वायरमा बुधबार साँझ छुरा प्रहार गरी दुई जना दाजुभाइको हत्या भयो । ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भयो । सिर्जन नेम्वाङले झुक्किएर अर्कै नम्बरमा फोन गरेपछि सुरु भएको विवादले हत्यासम्म पुर्यायो । बुधबार ४ बजेतिर ललितपुरको मंगलबजार घुम्ने क्रममा सिर्जनले एक साथीलाई फोन गर्दा झुक्किएर पाटन भोलढोका वडा नम्बर ९ निवासी सञ्जीव नेपालीको नम्बरमा गएको र त्यहीँबाट विवादको सुरुवात भएको थियो । फोन रिसिभ गर्ने व्यक्तिले अपशब्द प्रयोग गर्दै गाली गरेपछि दुवै पक्षबीच भनाभन भएपश्चात उनीहरूले मंगलबजारमै भेट्ने सहमति गरेका थिए । घटना-२ : ललितपुर महानगरपालिका-२६ को ढोलाहिटीमा केही समयअघि दुई युवाको हत्या भयो । कारण थियो ‘पुरानो रिसिबी’ । ढोलाहिटीस्थित डि-पोपिना रेस्टुरेन्टमा दुई जनामाथि चक्कु प्रहार भएको थियो । सुनसरीको धरान घर भएर ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र पाँचथर घर भएर खुमलटार बस्ने ३० वर्षीय पुजन राईलाई अस्पतालले मृत घोषणा गरेको थियो । घटना-३ : गत मङ्सिरमा बारा प्रसौनी गाउँपालिका–६ भलुही चोका रहेको किरण बेभरेज नेपाल प्रालिका म्यानेजर रामकिशोर सिंहको हत्या भयो । गढीमाइको मेलामा गाडीको क्लच जलाएको निहुँमा राजकुमार र मृतक रामकिशोरबीच झगडा भएको थियो । त्यही झगडापछि राजनकुमारले जागिर छाडेका थिए । रामकिशोरको शव मंसिर १२ गते बिहान पौने ८ बजे उद्योगभन्दा २५ मिटर उत्तरको खाल्डोमा फेला परेको थियो । वीरगञ्जमा सँगै बसेर मदिरा सेवन गरेपछि उनीहरूले हत्या गर्ने योजना बनाएका थिए । हत्याको योजना बनाएपछि राति साढे ८ बजेतिर उनीहरू दुबै जना धारिलो हतियार बोकेर गएका थिए । उद्योगभित्र पसेर उनीहरूले छुरा र इँटाको प्रयोग गरी हत्या गरेका थिए । यी तीन घटनाले हत्यालाई सामान्यीकरण बनाउँदै लगेको देखिन्छ । धेरैजसो घटना रिसिबी र सामान्य कुरा सहन गर्न नसक्दा हत्या भएको देखिन्छ । अस्थिर समाजको परिणाम समाज विचलनमा गएको समय यस्ता व्यक्ति हत्या घटना तथा असामाजिक गतिविधि बढ्ने गरेको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । सामाजिक संरचना तथा समाज संक्रमणकालमा रहेको समयमा असामाजिक घटनाको संख्या बढ्ने उनको भनाइ छ । ‘सामाजिक मूल्यमान्यताको ख्याल नगर्नेहरूले समाजलाई बढी असर पुर् याउँछन्,’ समाजशास्त्री गौतमले भने, ‘बाल्यकालीन अवस्थाको समय तथा पारिवारिक पृष्ठभूमिले ठूलो प्रभाव पार्ने गर्छ । समाजमा रहँदा विगतमा गरेको गल्ती नसच्याउने तथा बानी परिसकेकाले नकारात्मक गतिविधि गर्ने गर्छन् ।’ व्यक्तिले गर्ने गलतलाई पनि सामान्य ठान्दा यस्ता हत्या जस्तो जघन्य अपराध गर्ने गरेको उनको भनाइ छ । संक्रमणकालीन समाजमा यस्तै हत्या जस्तो गतिविधि हुने गरेको उनले उल्लेख गरे । योजनाबद्ध हत्या पाटन घटना तथा कोही मानिस एक्कासि भएको भेटघाटमा अवस्थामा हत्या गर्न पुग्नेहरू अगाडि योजनासहित जाने गरेको मनोविद डा. पशुपति महतले बताए । मानिसहरूको पेसाले पनि उसको बानी व्यवहार कस्तो हुने त्यहीँ अनुसार प्रस्तुति हुने गरेको उनको भनाइ छ । पाटनको घटनामा मासु काट्ने पेशामा आवद्ध रहेकाले मृत्यु तथा काटमारलाई सामान्य ठानेको हुन सक्नाले डा. महतले बताए । उमेर समूह तथा विगतमा गरेका क्रियाकलापले पनि मानिसलाई असामाजिक काम गर्न प्रोत्साहन गर्न सक्ने उनले बताए । रिस व्यवस्थापन गर्न नसक्नेहरू अन्त्यमा गएर द्वन्द्वमा सामेल हुने डा. महतको बुझाइ छ । व्यक्तिको स्वभाव अनुसार मानिसले व्यवहार देखाउने सक्ने उनले बताए । असामाजिक तथा फरक स्वभावका मानिसले अवाञ्छित गतिविधि गर्न सक्ने उनको भनाइ छ । नैतिक शिक्षाको कमीले समाज आक्रामक बन्दै असामाजिक गतिविधि गर्ने तथा अरूलाई दुःख दिएर आफू खुसीहरू अपराध कर्म गर्नतिर अग्रसर हुने मनोविश्लेषक वासु आचार्य बताउँछन् । नैतिकता नमान्ने र दिमागको उत्तेजना तथा उत्तेजना नियन्त्रण गर्न नसक्नेहरू असामाजिक गतिविधि गरिरहेको उनले बताए । आफ्नो भविष्य कस्तो हुन्छ तथा आफ्नो बारेमा मतलब नगर्नेहरू आपराधिक गतिविधि गर्न तल्लीन हुने आचार्यले बताए । आफूले गरेको कर्मले आगामी परिणाम कस्तो हुन्छ भनेर ख्याल नगर्नेहरू अपराध गर्ने गरेको उनको बुझाइ छ । ‘आचरणमा समस्या तथा झगडा गर्ने बानी भएकाहरू कुनै न कुनै समयमा जघन्य अपराध गर्न सक्छन्,’ आचार्यले भने, ‘गलत संगत, पारिवारिक पृष्ठभूमिको कारण व्यक्तिको आनीबानीको विकास हुने गर्छ ।’ रिस नियन्त्रण गर्न नसक्नेहरू अपराध कर्ममा सामेल हुने गरेको उनले उल्लेख गरे । गरिसकेको कर्मको कस्तो परिणाम आउने भनेर होसियार नहुनेहरू अवाञ्छित गतिविधि गर्ने उनको भनाइ छ । अभिभावक तथा परिवारका सदस्यले अन्य सदस्यको गतिविधि नियाल्नुपर्ने आचार्यले बताए । आवेग नियन्त्रण गर्न नसक्नेहरूले गलत गतिविधि गरिरहेको हुन नसक्ने उनले बताए । हत्याको श्रृङ्खला बढ्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले आवेगमा आएर गरिने क्रियाकलापले समाज असंवेदनशील गएको बताउँछन् । विद्यालयमा नैतिक शिक्षा पढाउन पनि जरुरी रहेको पनि उनले बताए । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा पाँच सय २२ जनाको हत्या भएको छ । व्यक्ति हत्यामा ५१० मुद्दा दर्ता भएको छ । चालु आर्थिक वर्ष फागुनसम्ममा ३३२ जनाको हत्या भएको छ । व्यक्ति हत्यामा ३२७ मुद्दा दर्ता भएको छ । अभिभावकको माया र प्रेम नपाएकाहरूमा आपराधिक गतिविधि गर्ने गरेको पाइएको उनले बताए । असल संगतमा नहुने र आवेगमा आउनेहरूले चाँडै अपराध गर्न सक्ने काफ्लेको भनाइ छ ।
कृषि जानकारी समेटेर कृषि विकास बैंकले ल्यायो नयाँ भित्ते पात्रो
काठमाडौं । व्यावसायिक तरकारी खेती तथा तरकारी मूल्य शृङ्खलाको सुदृढीकरणमा जोड दिने उद्देश्यसहित कृषि विकास बैंक लिमिटेडले ‘व्यावसायिक तरकारी खेती’ थिममा आधारित २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको पात्रोमा विभिन्न तरकारीहरूको महत्त्व, उत्पादन विधि तथा पोषणसम्बन्धी जानकारी समेटिएको छ । किसान तथा सर्वसाधारणलाई उपयोगी कृषि ज्ञान प्रदान गर्ने लक्ष्यसहित पात्रो तयार गरिएको बैंकले जनाएको छ । पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्बिरसँगै खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएको छ । टमाटर खेतीका लागि आवश्यक तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’ को महत्त्व र स्वास्थ्य लाभ उल्लेख गरिएको छ । साथै आलुको उत्पादन वृद्धि गर्न बीउ छनोट र खेत तयारीसम्बन्धी सुझावसमेत समेटिएका छन् । पात्रोमार्फत ‘सरल कर्जा’ र ‘आधुनिक कृषि’ सम्बन्धी सन्देश प्रवाह गर्दै बैंकले कृषकको वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहन गरेको छ । कृषि ऋणको सहज उपलब्धता, व्यावसायिक खेतीतर्फ आकर्षण तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिकालाई पात्रोले स्पष्ट रूपमा प्रस्तुत गरेको छ । समग्रमा कृषि विकास बैंक लिमिटेडको यो भित्ते पात्रो केवल मिति हेर्ने माध्यममा सीमित नभई कृषि ज्ञान र सचेतना फैलाउने प्रभावकारी उपकरणका रूपमा प्रस्तुत भएको छ। आधुनिक प्रविधि अपनाउन किसानलाई प्रेरित गर्दै तरकारी उत्पादन वृद्धि, पोषण सुरक्षा तथा आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
काठमाडौं । ट्राफिक प्रहरीले चोरी भएको मोटरसाइकल ग्यारेजको अगाडि पार्ट पुर्जा खोली लुकाइ राखेको अवस्थामा फेला परेको छ । बाप्र०२–०३४प ९८३१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल हराएको भनी पीडितले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकोमा खोजी गर्दै जाँदा उक्त मोटरसाइकल पार्ट पुर्जा खोलेको अवस्थमा फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाइ जानकारी दिए । उनले भने, 'काठमाडौंको तारकेश्वर नगरपालिका–४ रातोपुलमा रहेको मोटरसाइकल ग्यारेज अगाडि पार्ट पुर्जा खोली सकेको अवस्थामा फेला परेको र खोलिएका पार्टपुर्जाहरु लुकाइछिपाइ राखिएको अबस्थामा फेला परेको हो ।' यसैगरी मिलेमतोको आशकामा ग्यारेज सञ्चालक समेतलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको प्रवक्ता सुवेदीले बताए ।