निर्वाचन आचारसंहिता आइतबार मध्यरातदेखि लागू हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।     निर्वाचन आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए ।      आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ ।     

सीटीईभीटीको उपाध्यक्षमा मोहम्मद सफिउल्लाह मनोनयन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष पदमा मोहम्मद सफिउल्लाह मनोनयन भएका छन् । उपाध्यक्षको मनोनयनका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सिफारिस तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा माघ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सफिउल्लाहलाई मनोनयन गर्ने निर्णय गरेको हो । राजपुर नगरपालिका–२, रौतहटका स्थायीबासिन्दा सफिउल्लाह विसं २०७७ सालमा नेपाल औषधी लिमिटेडको महाप्रवन्धक बनेका थिए । समितिले सफिउल्लाहसँगै अल्पसूचीमा परेका अन्य आठ जनालाई २८ पुसमा अन्तर्वार्ताका लागि बोलाएको थियो ।  

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फको मनोनयन अवधि बढ्ने संकेत

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको समयावधि बढाउने तयारी गरेको छ । राजनीतिक दलहरूको आग्रहपछि आयोगले मनोनयन दर्ताको अवधि केही दिन थप्ने विकल्पमा छलफल अघि बढाएको आयोग स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनको समग्र कार्यतालिका भने यथावत् रहने बताइएको छ । ‘निर्वाचनको कार्यतालिका परिवर्तन हुँदैन, तर मनोनयन दर्ताको समय केही दिन थप हुनसक्छ,’ आयोग स्रोतले भने, ‘यससम्बन्धी आधिकारिक निर्णय हुन बाँकी छ ।’ आयोगले दलहरूबीच देखिएको आन्तरिक विवाद, उम्मेदवार छनोटमा देखिएको ढिलाइ र व्यवहारिक कठिनाइलाई ध्यानमा राख्दै मनोनयन दर्ताको समय बढाउने विषयमा सकारात्मक धारणा बनाएको बुझिएको छ । निर्वाचन आयोगले आवश्यक परे छिट्टै औपचारिक निर्णय सार्वजनिक गर्ने जनाएको छ ।