पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिनुभयो । अहिले बिहान १०ः०० बजे विभागमा प्राप्त वर्षा मापनअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिम ६० भन्दा बढी केन्द्रहरूमा वर्षा भएको छ । विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ । यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ । विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस     

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मर्भिरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानि पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गरे । सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गरे ।

नेपाली विद्वान कामना काफ्ले अमेरिकामा सम्मानित

काठमाडौं । नेपाली कृषि अनुसन्धानकर्ता र विज्ञान सञ्चारकर्मी कामना काफ्ले, जसलाई धेरैले एग्रीगर्ल भनेर चिनिन्छन्, अमेरिकाको युनिभर्सिटी अफ अर्कान्ससबाट डिस्टिङ्ग्विश्ड डक्ट्रल फेलोशिप पाएकी छन् । यो फेलोशिप अमेरिकाको सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक डक्ट्रल फेलोशिपमध्ये एक मानिन्छ । यसले प्रतिवर्ष २२ हजार डलर, चार वर्षसम्म कुल ८८,००० डलर प्रदान गर्ने व्यवस्था छ । फेलोशिपले उत्कृष्ट शैक्षिक प्रदर्शन, नेतृत्व क्षमता र अनुसन्धानको सम्भावना देखाउने विद्वानहरूलाई लक्षित गरेको छ । विश्वविद्यालयले यसलाई स्नातक तहका विद्यार्थीलाई दिन सकिने सर्वोच्च सम्मान मध्येको एक ठहर गरेको छ । कामना काफ्लेले आगामी अगस्ट २०२६ बाट एग्रीकल्चरल लिडरशिप एण्ड कम्युनिकेसन मा पीएचडी सुरु गर्ने तयारी गरेकी छिन् । अगस्ट २०२४ मा अमेरिका पुगेपछि काफ्लेले आफूलाई उत्कृष्ट विद्यार्थी र कृषि नवप्रवर्तनमा उदाउँदो नेताको रूपमा स्थापित गरेकी छिन् । उनी २०२५ शैक्षिक उत्कृष्टता पुरस्कारकी विजेता, राइसल्याण्ड स्कलर, अर्कान्सस स्टेट युनिभर्सिटी स्वागत दूत र फाइ क्याप्पा फाइ सम्मान समाजकी सदस्य पनि हुन् । साथै, उनले डिजिटल कृषि मास्टर्स डिग्री पूरा गरेकी छन् र कृषि विद्यार्थीहरू उत्पादन कृषि तर्फ आकर्षित हुने कारणहरूको अनुसन्धान समेत गरेकी छिन् ।