फेटा गाउँपालिकाबाट फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् । उनका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए ।  उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।   

जब सजन श्रेष्ठसहित तीनजना छाडा बोलेको भन्दै माफी माग्न ब्यूरोमा पुगे...

काठमाडौं । विवादित युट्युबर सजन श्रेष्ठसहित तीन जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर छाडेको छ । युट्युबमा छाडा बोलेको भन्दै चर्चित स्ट्यान्डअप कमेडियन तथा कलाकार सजन श्रेष्ठसहित उनका साथीहरूले ब्यूरोमा पुगेर माफी मागेका हुन् । जेठ ५ गते साइबर ब्यूरोको कार्यालयमा उनीहरू पुगेका थिए । ब्यूरोले उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’सर्तमा छाडेको हो । साजन श्रेष्ठले सञ्चालन गर्ने युट्युब च्यानलमा ‘इन दी लास्ट कोइसन’ नामक कार्यक्रम प्रसारण हुँदै आएको छ ।  कार्यक्रमको एउटा एपिसोडमा साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमबीचको कुराकानीमा अत्यधिक छाडा र उच्छृङ्खल शब्दहरू समावेश थिए । उनीहरूले ‘कमेडी’ को नाममा अश्लील र अपाच्य शब्दहरू बोलेपछि सर्वसाधारणले कडा आलोचना गरेका थिए । दर्शकहरूले कार्यक्रममा बोलिएका शब्दहरू छाडा भएको भन्दै साइबर ब्यूरोमा गुनासो र उजुरी गरेपछि प्रहरीले एक्सन लिएको हो । ब्यूरोका एक अनुसन्धान अधिकृतले टीआरपी (भ्युज र चर्चा) को नाममा कार्यक्रममा जथाभावी उच्छृङ्खल र छाडा शब्द प्रयोग गरेकाले उनीहरूलाई बोलाएर सोधपुछ गरिएको बताए । ‘टीआरपीका नाममा छाडा शब्द प्रयोग गरेको मौखिक ब्यूरोमा उजुरी परेको थियो । श्रेष्ठसहित तीनै जनालाई बोलाएर सोधपुछ गरिएको हो,’ साइबर ब्यूरोका एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू तीनै जनाले गल्ती महसुस गर्दै अब आइन्दा छाडा शब्द नबोल्ने भनेर माफी मागेपछि छाडिएको हो ।’ यसअघि पनि गायक तथा कुमा सागरको बोलीलाई क्यारिकेचर गरेपछि उनी विवादमा आएका थिए । कार्यक्रममा श्रेष्ठले कुमा सागरको गीत उनकै लवजमा गाउने प्रयास गरेका थिए । यसपछि श्रेष्ठले गायक कुमा सागरलाई होच्याएको भन्दै आलोचना सुरु भयो । विवाद बढेपछि उक्त कार्यक्रम युट्युबबाटै हटाइएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनमा पनि श्रेष्ठ सहभागी भएका थिए । पछि उनले आफूले आगजनी तथा तोडफोड गर्नेलाई सम्झाएको भनेर बताएका थिए ।

विश्वकप क्रिकेट लिग–२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ ।         नेपाल २२ अङ्कका साथ विश्वकप क्रिकेट लिग–२ को पाँचौ स्थानमा छ । अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा छ । अमेरिकाविरुद्धको आजको खेलमा नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन् ।