तीन वर्षभित्र १० फुटबल रंगशालामा फ्लडलाइट जडान गरिने, ८ हजार दर्शक क्षमता

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्तीमा ८ हजार दर्शक क्षमता भएका रंगशालालाई आधुनिक सुविधासहित स्तरोन्नति गरिने जानकारी दिए ।

त्यस्तै, प्रमुख आठ शहरमा आगामी पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

सरकारले विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा २ हजार दर्शक क्षमता भएका इन्डोर मल्टिपर्पोज स्टेडियम आगामी तीन वर्षभित्र निर्माण गर्ने घोषणा गरेको छ ।

यसैगरी, मुलपानी क्रिकेट रंगशाला तथा क्रिकेट एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फाप्ला रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तय गरिने बजेटमा उल्लेख छ ।

खेलकुद क्षेत्रमा प्रतिभा विकासलाई प्राथमिकता दिँदै सरकारले विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधासहित प्रशिक्षण दिने व्यवस्था मिलाउने जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने पनि सरकारले घोषणा गरेको छ ।

त्यस्तै, सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न तथा मधेश प्रदेशमा प्रस्तावित ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत बजेट विनियोजन गरिएको छ ।

Share News