बोनस सेयरपछि सेन्ट्रल फाइनान्सको मूल्य समायोजन

काठमाडौं । बुधबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७.९७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १४४.४९ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बुधबारको बजारमा कम्पनीको सेयर मूल्य घट्ने क्रममा रहेको छ ।

बजार बढ्यो, प्रभु बैंक र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड बढीको सेयर कारोबार

काठमाडौं । मंगलबारको सेयर बजार ७.४३ अंकले बढेर १२२४.३६ अंकमा पुगेको छ । सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार भने ०.६१ प्रतिशतले बढेको छ । बजारमा दुई कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । मंगलबार प्रभु बैंकको एक करोड ८० लाख र लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा मंगलबारको बजारमा १६३ कम्पनीको २२ करोड १८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७८ रुपैयाँ पुगेको छ । बजारमा होटल, हाइड्रो र माइक्रोफाइनान्स समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २२ अंकले उकालो लागेको छ ।

क्रेडिट क्रन्चले घटायो सेयर बजार, सोमबार पनि दोहोरो अंकको गिरावट

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव र बढ्दो ब्याजदरले गर्दा पुँजीबजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । आइतबार १४ अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । दिनभर उतारचढाव आएको सोमबारको बजारमा नेप्से परिसूचक १०.५६ अंकले ओरालो लागेर १२१६.९३ अंकमा झरेको छ । समग्रमा दशैं पछिको सेयर बजार निरन्तर रुपमा घटेको छ । यसको मतलब बजारमा चाडपर्वको प्रभाव परेको भन्ने बुझ्न सकिन्छ । साथै, लगानीकर्ताहरु प्रथम त्रैमासिकको पर्खाइमा रहेकाले पुँजी बजारमा गिरावट आएको एक ब्रोकरले बताएका छन् । बजार घट्नुको मुख्य कारण क्रेडिट क्रन्च रहेको उनी बताउँछन् । बजारमा परिसूचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबारको बजारमा कुल १६० कम्पनीको २४ करोढ ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी गोर्खा फाइनान्सको २ करोड ५७ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । त्यस्तै, कारोबारमा आएको १० वटै समूहका सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ७५ अंकले घटेको छ । होटल ४८, हाइड्रोपावर १४, विकास बैंक १२, जीवन बीमा र उत्पादनमूलक समूह ११ अंकले ओरालो लागेका छन् ।