किसान माइक्रोफाइनान्सको कात्तिक १३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आगामी कात्तिक १३ गते बुक क्लोज हुँदै छ । संस्थाले सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ४० हजार २५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिए अनुसार २ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति पाएको हो ।संस्थाले सिभिल क्यापिटल मार्केट लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको छ ।
सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । मंगलबारको सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । कारोबार शुरु हुँदा उकालो लागेको बजार बन्द हुँदा ३.४८ अंकले घटेर १२४१ अंकमा पुगेको छ । सामान्य अंकले घटेको बजारमा युनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन यस कम्पनीका सेयरधनीले ९.८२ प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँ रहेको छ । त्यस्तै, अरुण काबेली पावरका सेयरधनीले ५.१७ प्रतिशत कमाएका छन् । दिनभरको बजारमा कुल १५५ कम्पनीको कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन ३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । समग्रमा कुल ८ लाख ४२ हजार कित्ता सेयर १९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएको छ । बजारमा उत्पादनमूलक र फाइनान्स समूह क्रमशः ३१ र ४ अंकले उकालो लागेका छन् । होटल समूह स्थिर रहेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।
छ्याङ्दी हाइड्रोको कात्तिक १५ गते बुक क्लोज
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको आगामी कात्तिक १५ गते बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एकदिन संस्थाको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी कात्तिक २९ गते चौंथो र पाँचौँ वार्षिक साधारणसभामा जाँदै छ ।