स्पर्स लघुवित्तको ३२.५ प्रतिशत आईपीओ पारित, पुँजी ८ करोड २९ लाख पुग्ने
काठमाडौं । सपर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३२.५ प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न संस्थाको दोस्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम जारी पुँजीको ३२.५ प्रतिशतले हुन आउने २ करोड ६९ लाख रुपैयाँ बराबरको २,६९,६३० कित्ता साधारण सेयर सर्वसधारणलाई निष्कासन गर्ने छ । हाल कम्पनीको जारी पुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको छ । विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, जारी पुजीलाई वृद्धि गर्दै संस्थापक तथा सर्वसाधारणको शेयर स्वामित्वलाई ७०ः३० को अनुपातबाट ६७.५०ः३२.५० हुने गरी संशोधन गर्ने तथा थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएको छ । जनता बंैक नेपाल लि, मेगा बैंक नेपाल लि. र ७५ जना व्यवसायिक तथा प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको यो वित्तीय संस्थाले हाल २० वटा शाखा मार्फत करिब १२,००० सदस्यहरुलाई ४६ करोड कर्जा लगानी गरेको छ । साथै, कम्पनीले करीब ९ करोड रुपैयाँ बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए । १० करोड रुपैयाँ अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजी ८ करोड २९ लाख रुपैयाँ पुग्नेछ ।
पुँजी बजारमा एलआईसीको सन्देश : सञ्चालक समितिको मात्र भर नपर्नु !
काठमाडौं । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई मात्र सर्वोपरि मानेर त्यसैअनुसार शेयर बजारमा लगानी गर्न/लगानी झिक्न चाहने लगानीकर्तालाई लाइफ इन्स्योरेन्स कर्पोरेसनले गतिलो सन्देश दिएको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत साउन २४ गते बसेको बैठकले शेयरधनीलाई ३६ प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरबापत लाग्ने कर प्रयोजनका लागि १.८९ रुपैंया नगद लाभांश दिने गरी गरिएको प्रस्तावलाई बीमा समितिले अस्वीकार गरी वित्तीय विवरण संशोधनका लागि निर्देशन दिएपछि सञ्चालक समितिको शनिबार पुनः बैठक बसी १२ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने ०.६३ प्रतिशत नगद लाभांश दिने संशोधित प्रस्ताव गरेको छ । यो स्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । उक्त प्रस्तावसँगै आइतबारको शेयर बजारमा सो इन्स्योरेन्सको शेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबारको शेयर बजारमा एलआईसीले सर्वाधिक मूल्य गुमाएको छ । कम्पनीको शेयर मूल्यमा ५.६३ प्रतिशतले गिरावट भई १५०० रुपैंयामा अन्तिम कारोबार भएको छ । समग्रमा दोहोरो अंकको गिरावट आएको बजारमा कम्पनीको मूल्यमा आएको गिरावट सामान्य देखिए पनि लगानीकर्तालाई सञ्चालक समितिको निर्णयलाई नै अन्तिम मान्ने प्रचलनप्रति सावधान रहनुपर्ने सन्देश दिएको छ ।
नेप्से दोहोरो अंकले घट्यो, लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले गुमाए सबैभन्दा बढी
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि घटेको नेप्से परिसूचक अन्त्यमा १३ अंकले घटेर १२०७ अंकमा झरेको छ । समग्रमा सो दिनको बजारमा १.०९ प्रतिशतको गिरावट आएको छ । बजारमा परिसूचकमा गिरावट देखिएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कुल १५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल)का लगानीकर्ताले गुमाएका छन् । एकैदिन कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८० रुपैयाँ अर्थात ५.६३ प्रतिशत गुमाएका छन् । कम्पनीले ३६ प्रतिशत बोनस घटाएर १२ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेपछि इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो । धेरै लाभांशको आसमा रहेका लगानीकर्ताहरु निराशजनक अवस्थामा रहेका सेयर मूल्यले संकेत गरेको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६५ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६५, बैंकिङ् १६, उत्पादनमूलक १५ र हाइड्रोपावर समूह ११ अंकले ओरालो लागेका छन् ।