मध्य भोटेकोशीको आईपीओमा २.८८ गुणाको आवेदन, हालसम्म कतिले भरे ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २.८८ गुणा बढी आवेदन परेको छ । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा हालसम्ममा सो मात्राको आवेदन परेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साढे ३ बजेसम्ममा १५ लाख ६२ हजार १८० जनाले २ अर्ब ३५ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । उनीहरुले कूल २ करोड ३५ लाख ९२ हजार २९० कित्ता सेयर माग गरेका हुन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा २.८८ गुणा बढी हो । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।

७४ हजार ४०० जनाले पाए बुद्धभूमी नेपालको आईपीओ

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले असोज २२ गते बिहान १०:३० बजे आफ्नो कार्यालयमा बाँडफाँड गरेको हो । आईपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । यसअनुसार रितपूर्वक आवदेन दिने ७४ हजार ४०० जना आवेदकले कम्पनीको १०/१० कित्ता सेयर हात पारेका छन् । र, बाँकी आवेदकको भने हात खाली भएकाे छ । उक्त आईपीओमा कूल २० लाख ३० हजार ९५५ जना आवेदकले २ करोड ४४ लाख ३७० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये २० लाख १४ हजार ९२२ जनाले दिएको २ करोड ४२ लाख एक हजार ९३० कित्ता आवेदन रितपूर्वक रहेका छन् भने १६ हजार ३३ जनाले माग गरेको एक लाख ९८ हजार ४४० कित्ता सेयर भने रद्ध भएको छ । यससँगै ७४ हजार ४०० जना आवेदकलाई गोलाप्रथा विधिमार्फत १०/१० कित्ताको दरले ७ लाख ४४ हजार कित्ता सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारण निष्काशन गरिएको थियो ।

स्वावलम्बन लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ पुग्ने छ । १९ प्रतिशत लाभांश पश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख रुपैयाँ नाघ्ने छ ।