निफ्राको लाभांश परिमार्जन, अब नगदको सट्टा बोनस सेयर दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रस्तावित लाभांश परिमार्जन भएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले पहिला प्रस्ताव गरेको नगद लाभांशको सट्टा बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ८ करोड ४२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित तथा अर्थ मन्त्रालयले स्वीकृत गर्नुपर्छ । यसअघि बैंकले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको थियो । जसलाई नेपाल राष्ट्र बैंकले परिमार्जन गर्न बैंकलाई निर्देशन दिएको हो ।

नेरुडे लघुवित्तका सेयरधनीलाई २२ प्रतिशत बढी लाभांश

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २२ प्रतिशत बढी लाभांश दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २२.६१८५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, असोज २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले २१.४८७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१३०९ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले कूल २२.६१८५ प्रतिशत लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पश्चात संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ पुग्ने छ ।

सेयर बजारः नेप्से १८ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं । आज पुँजी बजार मापक नेप्से परिसुचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा कायम भएको छ । कुल ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँको कारोबार भएको बजारमा ४८ कम्पनीको सेयर मूल्य भने बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मैलुङ खोला जलविद्युत, जिवन विकास लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य बढेर करिब सर्किट लेबलमा पुगेको छ । आज कुल ७२ लाख ५१ हजार कित्ता सेयर खरिद विक्री भएका छन् । परिसुचक घटेको भएपनि ३ उपसमुहका सुचक भने बढेका छन् । यसरी बढ्नेहरुमा फाइनान्स समुह ६.७६ अंकले, जीवन बीमा समुह ७३.८६ अंकले र म्युचुअल फण्ड समुहको सुचक ०.११ अंकले बढेका हुन् । अन्य समुहका सुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह ६.३३ अंकले, ट्रेडिङ समुह १४.३७ अंकले, होटल तथा टुरिजम समुह ५८.४ अंकले, विकास बैंक समुह ५८.०२ अंकले, जलविद्युत समुह ३३.०५ अंकले, निर्जीवन बीमा समुह ५३.३१ अंकले र उत्पादनमुलक समुह २०५.९५ अंकले घटेका छन् । यस्तै, अन्य समुह २७.६५ अंकले र इन्भेष्टमेन्ट समुह ०.६१ अंकले घेटका नेप्सेले जानकारी दिएको छ ।