सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोषबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरसमेतको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिनेछ ।

यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिनेछ ।

बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ रहेको छ । अग्राधिकार सेयरतर्फ चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Share News