काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारले थप हकप्रद सेयर लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्ले कम्पनीमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरेको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मंगलबार (कात्तिक १७ गते) बसेको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारको यो निर्णयसँगै कम्पनीमा सरकारी लगानी थपिने बाटो खुलेको छ ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको छ । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । पुँजी वृद्धि गर्न कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरेको थियो । सोही बमोजिम सरकारले निर्णय गरेको हो ।
कम्पनीमा नेपाल सरकारको ४४.०४ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसबाहेक सर्वसाधारणको १६ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सको ७.२५ प्रतिशत सेयर छ ।
कम्पनीको सेयर स्वामित्वमा एसियन लाइफ इन्स्योरेन्सको ३.८३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.२४ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको २.७७ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको समान १.६८ प्रतिशत, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको समान १.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।