काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६२ अंकले घटेर २६५७ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार २१ कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ । घलेम्दीको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथे ग्लोबल आईएमई बैंकको २९ करोड, कुमारी बैंकको २७ करोड, लुम्बिनी विकास बैंकको २३ करोड र मकर जितुमायाको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा कारोबार भएका सबै उपसूचकमा गिरावट आएको छ । नेप्सेका अनुसार सबैभन्दा धेरै विकास बैंक उपसूचक घटेको छ ।
विकास बैंक उपसूचक १.८८ प्रतिशतले घटेर ५ हजार ५४८.२८ विन्दुमा झरेको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक १.७२ प्रतिशतले घटेर ९ हजार ४२३.८८ विन्दुमा पुगेको छ ।
अन्य उपसूचकमा पनि गिरावट देखिएको छ । व्यापार उपसूचक ०.८६ प्रतिशत, होटल तथा पर्यटन ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९० प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.७३ प्रतिशतले घटेका छन् ।
त्यस्तै, बैंकिङ उपसूचक १.०७ प्रतिशत, जलविद्युत् १.०८ प्रतिशत, वित्त १.५३ प्रतिशत, लगानी १.४२ प्रतिशत, जीवन बीमा १.४७ प्रतिशत, लघुवित्त १.१६ प्रतिशत र अन्य उपसूचक १.६१ प्रतिशतले घटेका छन् ।