कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ । सो मात्राको ऋणपत्रको लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र बरिष्ठ शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता गत असोज २० गते भएको हो । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको “कृषिऋणपत्र” निष्काशन गरेको हो । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको जनाएको छ ।
महिला लघुवित्तको लाभांश संशोधन, बढ्यो बोनस
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश संशोधन भएको छ । संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गत आर्थिक वर्षको प्रस्तावित लाभांश संशोधन गरेको हो । कार्त्तिक ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले कूल ५० प्रतिशत लाभांश नै हुने गरी बोनस र नगदमा हेरफेर गर्ने निर्णय गरेको हो । यससँगै संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म कायम चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४७.५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी १० करोड ४ लाख ७५ हजार रुपैयाँ नाघ्ने छ । यसअघि संस्थाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कूल ५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बोनसपछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३३४.५५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३३४.५५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३६८ रुपैयाँमा भएको थियो ।