एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस सेयर सूचीकृत
काठमाडौं । मंगलबार एनआरएन इन्फ्राष्ट्रक्चर एण्ड डेभलपमेन्टको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीकाे २.८५ प्रतिशत अर्थात ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे हो । यससँगै कम्पनीको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि मिल्ने छ । २०७७ पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । जसलाई २०७७ माघ २५ गते सम्पन्न संस्थाकाे वार्षिक साधारणसभाले पारित गरेकाे हाे । यससँगै, २.८५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघेकाे छ ।
समता घरेलु लघुवित्तको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । दुई संस्था १ बराबर ०.८० को अनुपातमा एक आपसमा गाभिएका हुन् । गाभिएपछि बनेको समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार २०१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । र, दोश्रो बजारमा सेयर कारोबार फुकुवा भएको छ । यससँगै, सेयरधनीले भोलि(बैशाख २१ गतेदेखि) संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।
दोश्रो चरणको हकप्रद जारी गर्न अपि पावरले पायो बोर्डको अनुमति
काठमाडौं । अपि पावर कम्पनीले दोश्रो चरणको हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैशाख १९ गते कम्पनीलाई १ बराबर ०.२९३८ काे अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । कम्पनीले २०७७ कात्तिकमा मात्रै १ कित्ता साधारण सेयर बराबर ०.४७६ कित्ता साधारण सेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिसेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त हकप्रद पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।