‘लगानीकर्ताले ८ खर्ब बढी गुमाईसके, तत्काल यी ५ बुँदे माग सम्बोधन गरियोस्’

काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजार प्रति नेपाल इन्भेष्टर्स फोरमले ध्यानाकर्षण गरेको छ । पुँजीबजारका लगानीकर्ता संगठन इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै दैनिक घटेको बजारले लगानीकर्तामा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति ध्यानाकर्षण गराएको हो । फोरमले पुँजीबजारले हालसम्ममा ८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको बताएको छ । जुन पुँजीबजारको इतिहासमा सबैभन्दा बढी हो । यसले गर्दा ४४ लाखभन्दा बढी लगानीकर्ताहरु थप मारमा परेका छन् । त्यस्तै, जिम्मेवार निकायहरुको अदूरदर्शि नीतिका कारण पुँजीबजारमा आपूर्ति बढ्न गएको फोरमको आपत्ति छ । तर, आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पुँजीबजार प्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख कारण रहेको फोरमको आरोप छ । साथै, पुँजीबजारको विकास र विस्तारको लागि विगतमा उठाईएका मागहरु हालसम्म पनि सम्बोधन नभएकाले पनि पुँजीबजार निरन्तर रुपमा घटिरहेको फोमरले जनाएको छ । त्यसैले, बजारमा लगानीकर्ताको आकर्षण बढाउन र लगानी सुरक्षाको आभाष दिलाई बजारको विश्वसनीयता बढाउनको लागि यथाशीघ्र विभिन्न ५ बुँदे मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । १. नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई कुनै एउटा बैंकबाट ४ करोड र ३ वटा बैंकबाट १२ करोडको सिमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेको कारण उक्त नियम तुरुन्त खारेज गरियोस् । २. नयाँ ब्रोकर संख्याहरू थप गरी वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिई उक्त बैंकहरूको देशभरिको सबै शाखाहरूबाट कारोबार गर्ने सुविधा विस्तार गरियोस् । ३. ब्रोकर मार्फत हुने मार्जिन कर्जा यथाशीघ्र उपलब्ध गराईयोस् । ४. हालको कारोबार हेर्दा ब्रोकर कमिसन अत्यन्त महङ्गो भएको हुनाले समय सापेक्ष अविलम्ब समायोजन गरियोस् । ५. पूँजीबजारलाई नियमन गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लामो समयदेखि निमित्तको भरमा चलिरहेको हुँदा उक्त नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा योग्य व्यक्ति अविलम्ब नियुक्ति गरी यथासक्य चाँडो भन्दा चाँडो आम लगानीकर्ताको समस्या समाधान गरियोस् ।

नेप्से परिसूचक दैनिक घटेर २५७० बिन्दुमा, सोमबार पौने ४ अर्बको पनि भएन कारोबार

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । सोमबारको बजारमा पनि नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ बिन्दुसम्ममा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटी हो भने धेरै यताको न्यूनतम बिन्दु हो । परिसूचक मात्रै होइन कारोबार रकम पनि दैनिक रुपमा घटिरहेको छ । सोमबारको कारोबार ३ अर्ब ६२ करोड रुपैयाँमा मात्रै सीमित भएको छ । जुन धेरैयताको न्यून कारोबार हो भने अघिल्लो दिनको तुलनामा ४९ करोड रुपैयाँले घटी हो । बजारमा २२७ कम्पनीको स्क्रीप्टहरु कारोबारमा आएका छन् । जसमध्ये यूनाईटेड मोदी हाईड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ । घटको बजारमा पनि विभिन्न ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आशा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.९९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९७ र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८३ प्रतिशतले बढेको छ । सोमबारको बजारमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ९.३८ प्रतिशतले घटेर प्रतिकित्ता १८८५ रुपैयाँमा झरेको छ । त्यस्तै, होटल्स एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र अन्य समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो एजीएम, कार्त्तिक ३ गतेदेखि बुक क्लोज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक ३ गतेदेखि कार्त्तिक १३ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । यससँगै कार्त्तिक २ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।  संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने