राताम्मे देखिएको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार
काठमाडौं । सोमबार उच्च गिरावट देखिएको बजारमा पनि २ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कारोबार खुलेको एक घण्टा नबित्दै दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । यो अवधिसम्म विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । जसमध्ये विशाल बजार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य ३४८ रुपैयाँले बढेर प्रतिकित्ता ३८३२ रुपैयाँ पुगेको छ । त्यस्तै, महिला लघुवित्तको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य २१३ रुपैयाँले बढेर प्रतिकित्ता २३४९ रुपैयाँमा कारोबार भएको छ । यो समाचार तयार पार्दासम्म यूनाईटेड ईदी मर्दी आर बी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ७.०२ प्रतिशतले घटेर प्रतिकित्ता २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
४५ मिनेट नबित्दै ५५ अंकले घट्यो नेप्से, म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे
काठमाडौं । सोमबारकोे बजार खुलेको पौने घण्टामै नेप्से परिसूचक ५५ अंकले बढीले घटेको छ । दिउँसो ११ बजेर ४३ मिनेट जाँदा परिसूचक ५५.०९ अंकले घटेर २५१७.११ बिन्दुमा झरिसकेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१४ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९ अंकले घटेर ४५५ बिन्दुमा झरेको छ । यो समाचार तयार पार्दासम्म बजारमा ७६ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्म १९७ कम्पनीको १२ लाख ६५ हजार ८९२ कित्ता सेयर खरिद बिक्री भइसकेको छ । त्यस्तै, म्युचुअल फण्ड बाहेक काराेबारमा अाएका सबै समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०५ अंकले घटेकाे छ ।
क्रस होल्डिङका कारण मात्रै युनाइटेडको नाम आएको हो, हामी कसैसँग मर्जरमा जादैनौंः नबिल बैंक
काठमाडौं । नबिल बैंकले अन्य कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरमा नजाने बताएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जरको चर्चा चलिरहेको बेलामा नबिल बैंकले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जरमा नजाने प्रष्ट पारेको हो । नेपालको सबैभन्दा पहिलो संयुक्त विदेशी लगानीको नबिल बैंकलाई अरु बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान आवश्यक नभएको नबिल बैंक उच्च स्रोतले बतायो । कुनै बैंक वित्तीय संस्थासँग मर्जरमा नगई पनि सबैभन्दा ठूलोमध्येमै रहेको नबिललाई मर्जरको आवश्यकता नभएको उनको भनाई छ । ‘हामी पनि सुनिरहेका छौं कि फलानो बैंकसँग नबिलले मर्जरको लागि कुरा गरिरहेको छ, फलानो बैंकसँग मर्जर हुनै लाग्यो, फलानो बैंक र नबिल यति स्वापमा मर्जर हुन लाग्यो भन्ने जस्ता हल्ला व्यापक छन्, मर्जरको लागि छलफल भएको भए सहभागी हुने हामी नै हौं तर, अहिलेसम्म मर्जरको लागि हामीले कसैसँग कुरा गरेका छैनौं, प्रष्ट कुरा के हो भने हामी कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरमा जादैनौं,’ नबिल बैंकका एक उच्च पदाधिकारीले विकासन्युजसँग भने । अक्वायरका लागि पहल नबिलले अन्य कुनै पनि बैंक वित्तीय संस्थासँग मर्जरमा नजाने भनेपनि अक्वायरको लागि भने पहल भइरहेको बताएको छ । अक्वायरको लागि सम्भावित सबै बैंक वित्तीय संस्थाको अन्तरिक रुपमा सबै पक्षको अध्ययन भइरहेको र केही बैंक वित्तीय संस्थाहरुसँग कुरा भइरहेको नबिल स्रोतले जानकारी दियो । ‘केही समयअघि एनसीसी बैंक अक्वायर गर्नको लागि छलफल भएकै हो, बीचमा फेरि सुस्तायो, यसबीचमा हामीले सिद्धार्थ बैंकसँग कुरा गर्यौं, सिभिलसँग कुरा गर्यौं, मेगासँग कुरा गर्यौं, सम्भावित अन्य बैंकहरुसँग कुरा भयो, केही फाइनान्स कम्पनी र विकास बैंकहरुसँग पनि कुरा भएको हो तर, यी सबै बैंक वित्तीय संस्थासँग मर्जरको लागि होइन, नबिलले अक्वायर गर्नको लागि कुरा भएको हो, कुरा भएपनि यो बैंक वित्तीय संस्था मोटामोटी यति रुपैयाँमा अक्वायर गर्ने भनेर अनौपचारिक पनि सहमति भएको छैन, खाली हामीले आन्तरिक रुपमा अध्ययन गरेर यो संस्थासँग पनि सम्भावना छ है भन्ने तहको कुरा मात्रै भएको छ,’ स्रोतले भन्यो । नबिल बैंकले सम्भवन भए उपयुक्त बैंक वित्तीय संस्था अक्वायर गर्ने र त्यस्तो गर्न सम्भव नभए मर्जरमा भने नजाने रणनीति बनाएको छ । ‘मर्जरमा गएर किन टाउको दुखाउने ? पाए अक्वायर गर्ने, नपाए एक्लै अघि बढ्ने हो, अर्काे बैंक वित्तीय संस्थासँग मर्जरमा भएर हामी टाउको दुखाइरहदैनौं,’ नबिल बैंक उच्च स्रोतले भन्यो । युनाइटेडको नाम क्रस होल्डिङका कारण मात्रै पछिल्लो समय नबिल बैंकले युनाइटेड फाइनान्स अक्वायर गर्ने चर्चा चलेको छ । तर, नबिल बैंक स्रोतले भने युनाइटेडसँग यसबारेमा छलफल नभएको बताउँछ । ‘नबिल बैंकका केही प्रमोटर युनाइटेड फाइनान्सको प्रमोटर पनि हुनुहुन्छ, क्रस होल्डिङ देखिएकोले एक्वीजीसनको अनुमान गरिएको होला, अहिलेसम्म अक्वायर गर्ने भनेर हामी छलफलमा बसिसकेको अवस्था भने होइन,’ स्रोतले भन्यो । सम्बन्धित समाचार बैंकको सेयर मूल्य बढाउने हतियार बन्यो ‘नबिलसँग मर्जर हुँदै’को हल्ला, आज उछालियो एनसीसी अन्य बैंकसँगको मर्जरको हल्लाले एक सातामै ८२ रुपैयाँले घट्यो नबिलको सेयर मूल्य