नेप्सेमा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन करिब ८ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज (बैशाख ८ गते) दुई कम्पनीको बोनस र हकप्रद गरी ७ लाख ९७ हजार ९१९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सो दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रद र छ्याङ्दी हाइड्रोपावरको बोनस सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद र छ्याङ्दी हाइड्रोको ५ प्रतिशत अर्थात १ लाख ४१ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै यी दुई कम्पनीको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ । गत २०७७ माघ १८ गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार अब २०७८ बैशाख ९ गतेदेखि फुकुवा हुने भएको हो । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । त्यसपश्चात कम्पनीले २०७७ बैशाख ३ गते आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु पेश गरेकोले नेप्सेले कारोबार फुकुवा गरिदिने निर्णय गरेको हो । साथै, उक्त लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भएपश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने कम्पनीको प्रतिवद्धता रहेको छ । बैशाख ८ गतेको नेप्सेको निर्णयअनुसार कम्पनीको भोलि अर्थात बैशाख ९ गतेदेखि सेयर कारोबार शुरु हुने छ । पछिल्लो समय कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा भएको थियो ।

ग्लोबल आइएमई र स्पर्श लघुवित्तले शुरु गरे एकीकृत कारोबार, निक्षेप २ अर्ब बढी पुग्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाको आज (बैशाख ८ गते) देखि एकीकृत कारोबार शुरु भएको छ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपश्चात ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । बेसीशहर-८, लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरा-२६, कास्की केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति एकीकृत कारोबार शुरु भएको हो । एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ, कुल कर्जा लगानी ६ अर्ब १४ करोड रुपैयाँ, निक्षेप तथा बचत २ अर्ब ३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रदान भईरहेका छन् । साथै, वित्तीय संस्थाको कुल ग्राहक सदस्यहरु १ लाख २३ हजार ४१३ जना रहेका छन् भने ६३ हजार २९० जना ऋणी सदस्यहरुले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका छन् । सो कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए । साथै, मर्जरले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने उनले बताए ।