सुपर खुदी हाइड्रोले पुस २२ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सुपर खुदी हाइड्रोपावरले पुस २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
४७ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले बढेर २६३३ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ । आइतबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको २४ करोड, सीइनर्जी पावरको २२ करोड, एसवाई प्यानलको १८ करोड र शिवम् सिमेन्टको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै उपसमूहको सूचकमा हरियाली छाएको छ । बैकिङ १.१६ प्रतिशत, डेभलपमेन्ट बैंक २.२८ प्रतिशत, फाइनान्स २.७० प्रतिशत, होटल तथन पर्यटन १.३८ प्रतिशत, हाइड्रोपावर १.९७ प्रतिशत, लगानी १.९९ प्रतिशत, लाइफ इन्स्योरेन्स १.९२ प्रतिशत र उत्पादन तथा प्रशोधन १.८७ प्रतिशतले बढेका छन् । त्यसैगरी माइक्रोफाइनान्स १.३८ प्रतिशत, म्युचल फन्ड ०.९४ प्रतिशत, नन लाइफ इन्स्योरेन्स १.७० प्रतिशत, अन्य २.५५ प्रतिशत र व्यापार ०.७२ प्रतिशतले बढेका छन् । मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आइतबार सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँको ८ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।