नर्भिक हस्पिटलको ४२.१०५ प्रतिशत लाभांश घोषणा, २० प्रतिशत आईपीओ
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकट कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर नगद लाभांशबाट कट्टा गरिने जनाएको छ । प्रस्तावित लाभांश पारित गर्न हस्पिटलले भदौ २९ गते थापाथली काठमाडौंमा साढे १२ बजे वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, संचालकहरुको निर्वाचन र सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) जारी गर्ने एजेन्डा राखेको छ ।
घट्यो सेयर बजार, ५ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २० करोड, बलेफी हाइड्रोको १४ करोड, बुटवल पावरको १३ करोड र हिमालयन डिस्टीलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रहेका छन् । बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशतले घटेको छ । आज विकास हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।