काठमाडौं । विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति प्रदान गरेको छ ।
आयोगको २०८३ वैशाख ३ गते बसेको ३०७ औं बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ रहेको छ । आयोगको स्वीकृतिसँगै कम्पनीले यसको ५० प्रतिशतले हुन आउने १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।
आयोगले हकप्रद सेयरबाट संकलन हुने रकम खर्च गर्नका लागि स्पष्ट सीमा र शर्तहरूसमेत तोकिदिएको छ । संकलित रकममध्ये १०० करोड रुपैयाँ काबेली बी(१ जलविद्युत् आयोजना निर्माणका क्रममा लिइएको बैंक ऋण चुक्ता गर्न प्रयोग गर्नुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै, बाँकी ९४.७९ करोड रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी ‘काबेली इनर्जी लिमिटेड’ मा लगानी गर्नुपर्नेछ ।
आयोगले सेयर निष्कासनका लागि विशेष प्रक्रियासमेत निर्धारण गरेको छ ।
कम्पनीले पहिलो चरणमा संस्थापक शेयरधनीहरूका लागि निश्चित समय तोकेर सेयर खुला गर्नुपर्नेछ । संस्थापकहरूले रकम बुझाए वा नबुझाएको विवरण सार्वजनिक गरेपछि मात्र दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
सेयर निष्कासनबाट प्राप्त रकम तोकिएको क्षेत्रमा खर्च गरी १५ दिनभित्र त्यसको पुष्टि हुने कागजातसहित आयोगलाई जानकारी गराउनुपर्नेछ ।
अरुण काबेलीका सेयरधनीहरूमध्ये कोही नेप्सेमा सूचीकृत अन्य विद्युत् कम्पनी भएमा उनीहरूले यस हकप्रदमा लगानी गर्न आयोगको छुट्टै पूर्व–स्वीकृति लिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।