एभरेष्ट कलरको आईपीओ आजदेखि बिक्री खुला, ७ हजार कित्ता आवेदन दिन पाइने
काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख ९० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २७७० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । पाल्पाको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पििनिङको ३४ करोड, करपोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
नेप्सेका अध्यक्ष बस्यालले दिए पदबाट राजिनामा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् । बस्यालले सोमबार अर्थ मन्त्रालयमा नेप्सेको अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । बस्यालले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् । बस्याल २०८२ भदौ २० गते नेप्सेको अध्यक्षमा नियुक्त भएका थिए । त्यसअघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थिए ।