झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । झापा इनर्जीले भदौ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता, कर्मचारीका लागि ११ हजार ४०६ कित्ता र बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुक लागि बिक्री खुला गर्ने भएको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

२० प्रतिशत नगद लाभांश बाँड्ने ग्लोबल आइएमईको घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० प्रतिशत अर्थात् ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज १ गते होटल ले हिमालय लाजिम्पाट काठमाडौंमा दिउँसो साढे ४ बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ ।  सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।  यस्तै, सञ्चालक समितिको विसं २०८१ पुस १६ गते बसेको बैठकबाट स्वतन्त्र सञ्चालकमा नियुक्ति भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

सिक्लेस हाइड्रोको ७३ लाख ८४ हजार कित्ता सेयरको लकइन असोज १० गते सकिने

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरको लकइन अवधि एक महिनापछि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि असोज १० गते समाप्त हुने भएको हो ।  कम्पनीका अनुसार संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरूको गरी कुल ७३ लाख ८४ हजार ५ सय कित्ता सेयरको लइकन सकिन लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ६५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ८ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीको ३४ हजार ५ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।  आईपीओ बिक्री गरेर सेयर बाँडफाँडपश्चात् ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याएको सेयर लक इनमा राख्नु पर्ने नेपाल धितोपत्र बोर्डले व्यवस्था गरेको छ ।