बाजेको सेकुवा मर्जरमा जाने, सर्वसाधारणलाई आईपीओ दिने
काठमाडौं । नेपाली चेन रेस्टुरेन्ट बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २ गते रजिस्टर्ड कार्यालय बत्तीसपुतली काठमाडौंमा दिउँसो ३ बजे १६ औँ वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । सभाले अन्य कम्पनीसँग मर्जर सम्झौता र डीडीए गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालकलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।
बैंकको ऋण तिर्न अरुण काबेली पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने
काठमाडौं । अरुण काबेली पावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार कम्पनीको संस्थापक सेयरमा थप लगानी गर्न तथा बैंकको दीर्घकालिन कर्जा आंशिक भुक्तानी गर्न चुक्ता पुँजीको १ बराबर ०.५० (१:०.५०) को अनुपातमा हकप्रद जारी गर्नेछ । हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले असोज ३ गते काठमाडौंमा बिहान ११ बजे १५औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । साथै, विभिन्न कम्पनीका संस्थापक सेयरमा गरिएको लगानी अनुमोदन गर्ने तथा नयाँ कम्पनीहरूमा लगानी गर्न स्वीकृती प्रदान गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि प्रबन्ध पत्र तथा नियमावलीका दफाहरुमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी हुन पाउने छन् ।
१६ प्रतिशत प्रतिशत लाभांश बाँड्ने सिटिजन्सको घोषणा
काठमाडौं । सिटिजन्स क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित १६ प्रतिशत अर्थात् ३ करोड २० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले असोज २ गते द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नेछ ।