वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म रिलायन्स स्पिनिङ्ग मिल्समा लगानी गर्न सक्ने
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज मंसिर २५ गते अन्तिम दिन रहेको छ । मंसिर २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
१६९ कम्पनीको सेयर मूल्य घट्यो, ३ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६०९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२९ कम्पनीको ८६ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार श्रीनगर एग्रीटेकको भएको छ । श्रीनगरको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी ग्रुपको १७ करोड, युनिभर्सल पावरको ११ करोड, सागर डिस्टीलरीको १० करोड र हिमालयन रिइन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । एसवाई प्यानलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ ।
२० प्रतिशत लाभांश वितरण गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको घोषणा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो । इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।