एनआईसी एशिया बैंकको पुँजी २७.३७ अर्ब पुर्याउने

काठमाडौं । हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न एनआईसी एशिया बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको वैशाख २० गते बसेको बैठकले जेठ १८ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा २८औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैंकले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको ५० प्रतिशत अर्थात् २:१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । 

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात् अब साधारण सभाबाट पारित गर्नुपर्ने हुन्छ । साधारण सभाबाट पारित पछि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै बैंकले सेयर जारी गर्नेछ । 

हकप्रद सेयर जारी गर्न सम्बन्धित निकायको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै संशोधन गर्नुपर्ने भए सभाले सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन  गर्नेछ ।

साथै बैंकको सभाबाट अधिकृत पुँजी १९ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरि २७ अर्ब ३८ करोड रुपैयाँ, जारी पुँजी र चुक्ता पुँजी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरि २७ अर्ब ३७ करोड ६३ लाख ५० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, बैंकको प्रवन्धपत्रमा तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-२८ कमलादीस्स्थत आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण, चालु आव २०८२/८३ को लागि बाहय लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । 

साथै, बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल, सञ्चालक अनुपा प्रधान राजभण्डारीको नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको लागि निर्वाचन गर्नेछ । 

साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । 

Share News