क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो ।  कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो ।  सामूहिक लगानी कोषलाई छुट्याएको सेयरको लकइन असोज ५ गते सकिने कम्पनीले जनाएको छ । त्यसपश्चात् उक्त सेयर साधारण सेयर सरह कारोबारमा आउनेछ । 

१२.६३ प्रतिशत लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले डाक्यो १७ औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा शंसोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने र स्वतन्त्र संचालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । 

सेयर बजारमा १४२ कम्पनीको मूल्य बढ्यो, ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २७७६ बिन्दुमा पुगेको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनाइटेड मोदीको भएको छ । युनाइटेडको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २८ करोड, राधी विद्युत कम्पनीको २० करोड, बुटवल पावर कम्पनीको १७ करोड र माउन्टेन इनर्जीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६ र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ ।  त्यसैगरी जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बिमा ०.११, व्यापार ०.१८ र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।