क्लव चौलानीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल

काठमाडौं । सुदूरपश्चिम प्रदेशकै नमूना पाँचतारे होटलको रूपमा स्थापित हुने लक्ष्य लिएको क्लव चौलानी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गरिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस सम्बन्धमा क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ । पौष ०८ गते मंगलबार बुढानिलकण्ठ, काठमाडौंस्थित होलिडे इन रिसोर्टमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा क्लव चौलानी लिमिटेडका अध्यक्ष राजेन्द्र के.सी. तथा गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् । क्लव चौलानी लिमिटेड २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भई २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने तयारी गरेको छ । आईपीओ निष्कासन पश्चात् कम्पनीको पूँजी संरचना थप सबल भई होटल पूर्वाधार निर्माण, सेवा विस्तार तथा दीर्घकालीन व्यावसायिक वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ३७ अंकले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ ।      बुधबारको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।      कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।  

होटल पार्क ल्याण्डले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । होटल पार्क ल्याण्ड लिमिटेडले साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।  बुधबार डिल्लीबजार, काठमाडौंमा सम्पन्न एक समारोहमा सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच आईपीओ तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो  । होटल पार्क ल्याण्ड लिमिटेडका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए  । सम्झौता अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भएपछि सिटिजन्स क्यापिटल लिमिटेडले होटल पार्क ल्याण्डको सार्वजनिक निष्काशन आईपीओको बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा फैलिएको होटल पार्क ल्याण्ड लिमिटेडले विगत १८ वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल होटलमा ३२ कोठा छन् र गैडाचोकबाट ३५० मिटरको दूरीमा रहेको छ । कम्पनीले छिट्टै आफ्नो क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रमा १०५ कोठा सहित चारतारे होटलमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।