नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस अन्तर्गत, प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ रहनेछ र कुल २१ लाख ६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ । कम्पनीले २१ करोड ६ लाख रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । सम्झौता अनुसार नेशनल फण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरी निकट भविष्यमा आईपीओ सुरु गर्ने योजना तय गरेका छन् । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट विशेषीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड र हेज फण्डको कोष व्यवस्थापकको इजाजत प्राप्त गरेको कम्पनीले बुक बिल्डिङ्ग विधिबाट निष्काशित धितोपत्रका लागि योग्य संस्थागत लगानीकर्ता बन्न स्वीकृति पाएको छ ।
सेयर बजारमा ६ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेर २६०० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको ३४ करोड, राधी विद्युत कम्पनीको २१ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा लगानी र जीवन बीमा समूह २ प्रतिशतले बढेका छन् । बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।
एनएमबि बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहनेछ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भई कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।