दार्चुला पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कलश स्टक मार्केटको पहिलो शाखा बुटवलमा

काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले रुपन्देहीको बुटवल, मिलनचोकमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । श्रावण महिनाको अन्तिम सातादेखि स्वस्तिपूर्वक उद्घाटन गरी शाखा सञ्चालनमा आएको हो । बुटवल शाखामार्फत रुपन्देहीसहित पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीलगायतका नजिकका जिल्लाका सर्वसाधारणले दोस्रो बजारमा नयाँ प्रविधिमार्फत सेयर कारोबार गर्न अझ सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल ‘कमल’ ले बताए । कम्पनीले निकट भविष्यमा अन्य सम्भावित स्थानहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले दिए । उनका अनुसार, कम्पनीले आम सर्वसाधारणलाई सहज र पहुँचयोग्य बनाउँदै सेयर कारोबार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल धितोपत्र बोर्डको अनुमति तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले २०८० भाद्र १० गतेदेखि औपचारिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले ग्राहकलाई प्रविधिमैत्री ढंगले धितोपत्र ब्रोकरेज र निक्षेप सदस्य (डिपी) सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष प्रदिप केसीले बताए ।

शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन्  इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।