नेप्से सर्किट ब्रेकरमा नयाँ नियमः ५ प्रतिशतमा १५ मिनेट स्थगित, ८ प्रतिशतमा बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल विनियमावलीको विनियम १७ मा संशोधन गर्दै नेप्से परिसूचकको उतारचढावमा आधारित सर्किट ब्रेकर प्रणाली परिवर्तन गरेको छ । संशोधित व्यवस्था अनुसार निरन्तर कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचक दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोक्का गरिनेछ ।

त्यसैगरी, कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था गरिएको छ ।

यसैगरी, कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्र मूल्यमा सोही दिन १५ प्रतिशतभन्दा बढी घटबढ हुने गरी कारोबार गर्न नपाइने प्रावधान पनि संशोधित विनियमावलीमा समावेश गरिएको छ ।

Share News