फेदीखोलाले साढे १७ करोड रुपैयाँको आईपीओ बिक्री गर्ने
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा ४.३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ । आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण ४ करोड रुपैयाँ लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् ४८ करोड रुपैयाँ स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड रुपैयाँ थप गरी ७० करोड रुपैयाँ पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला ९ मेगावाट) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ । साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चार वर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।
यी हुन् बढी लाभांश दिन सक्ने विकास बैंक, २२ प्रतिशत बढ्यो नाफा
काठमाडौं । विकास बैंकहरुले गत वर्ष २२ प्रतिशत नाफा बढाएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशत बढेर ५ अर्ब ९२ करोड ४८ लाख ६ हजार रुपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा वर्षमा विभिन्न ८ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ । साथै विभिन्न २ बैंकको नाफा ऋणात्मक रहेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ भने वृद्धिदरमा सिन्धु विकास बैंक अगाडि छ । मुक्तिानाथ विकास बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन विकास बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, गरिमा विकास बैंकको २०१.९६ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकको २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ७९.५१ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको ९.१८ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५० प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको १.२५ प्रतिशत बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा गरेका छन् । एक्सेल डेभलपमेन्ट बैंकको ५.९६ प्रतिशत घटेर ४ करोड ९ लाख १ हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ३०.१२ प्रतिशत घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ, ज्योति विकास बैंकको ९२.७४ प्रतिशत घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख ८५ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् । खराब कर्जाको भारी गत वर्ष विकास बैंकहरु खराब कर्जाको भारी थिचिएका छन् । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत विन्दुमा रहेको खराब कर्जा गत वर्ष ८.१४ प्रतिशत ८.४१ प्रतिशत पुगेको छ । गत वर्ष अधिकांश बैंकको खराब कर्जा बढेको देखिन्छ । समीक्षा वर्षमा नारायणी डभेलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रपतशत विन्दुमा पुगेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत विन्दु, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत विन्दु, सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत ५.६४ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । महालक्ष्मी विकास बैंकको १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत विन्दु, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत विन्दु, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत विन्दु, कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दु, मुक्तिनाथ विकास बैंकको १६.०३ प्रतिशत बढेर २.७५ प्रतिशत विन्दु खराब कर्जा रहेको छ । गत वर्ष विभिन्न ३ बैंकले खराब कर्जा घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंकको ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत विन्दु, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत विन्दु र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत विन्दुमा कायम राखेका छन् । लाभांश क्षमतामा अब्बल विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ । ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो । सेयर जारी गर्नका लागि प्रत्याभूतिकर्ताको रूपमा कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोकाले हस्ताक्षर गरे । निर्जीवन लघुबीमा कम्पनीको रूपमा २०८० जेठ ८ गतेबाट व्यवसाय सञ्चालन स्वीकृति प्राप्त गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सोही वर्ष असार ३१ गतेदेखि बीमालेख जारी गर्दै आएको छ । कम्पनीले बीमाको पहुँच बाहिर रहेका सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई सहज पहुँचयुक्त निर्जीवन बीमा सेवा प्रदान गर्दै आर्थिक जोखिम व्यवस्थापन र अप्रत्याशित घटनाविरुद्ध सुरक्षा दिँदै आएको छ । लक्षित वर्गको आवश्यकता र आकांक्षालाई ध्यानमा राखी कम्पनीले विभिन्न लघुबीमालेखहरू मार्फत उपयुक्त बीमा विकल्प उपलब्ध गराउँदै आएको छ । हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सातै प्रदेशका ३३ कार्यालयमार्फत सेवा दिइरहेको छ ।