१९ अंकले घट्यो नेप्से, ४ अर्ब ५२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज नेप्से १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा कायम भएको छ । आइतबार कारोबार रकमको आधारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा बाराही हाइड्रोपावरको ११ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ४० लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज एसवाई प्यानल लिमिटेड र १०.२५ प्रतिशत सिटिजन्स बैंक डिवेञ्चरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । १३ उपसमूहमध्ये म्युचल फण्ड बढेको छ भने बाँकी रताम्मे देखिएका छन् । म्युचल फण्ड ०.१९ प्रतिशतले बढेको छ ।
कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेयर बजारमा आवद्ध लगानीकर्ताहरुको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरुलाई सेयर बजारको प्राविधिक विषयहरुको बारेमा प्रकाश पारे । काठमाडौंको बुद्धनगरमा रहेको क्वालिटि ब्याङ्केटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरुको सहभागिता रहेको थियो । यस कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरुमा र अनलाईनबाट संसारभर रहेका लगानिकर्ताहरुलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।
सेयर र घरजग्गा कारोबार सुध्रिँदा पुँजीगत लाभकर संकलन ४० अर्ब नाघ्यो
काठमाडौं । पुँजीगत लाभकर संकलन झण्डै दोब्बर संकलन भएको छ । अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत लाभकर संकलन झन्डै दोब्बरले वृद्धि भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा २२ अर्ब संकलन भएकोमा चालु वर्षमा ४० अर्ब ११ करोड संकलन भएको छ । यो वृद्धि गत वर्षको तुलनामा उल्लेख्य भएकाले अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख हुँदै गएको संकेतका रूपमा लिइएको छ । आय आर्जनका सबै स्रोतलाई आयकरको दायरामा ल्याउँदै करको आधार विस्तार गर्ने उद्देश्यले वि.सं. २०५८ देखि पुँजीगत लाभमा कर लगाउन थालिएको हो । यो कर व्यक्तिगत तथा संस्थागत दुवै तहमा लागू हुँदै आएको छ । पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा पुँजीगत लाभकर संकलनमा उतार–चढाव देखिएको छ । आ.व. २०७७/०७८ मा यस शीर्षकमा २९ अर्ब ३१ करोड संकलन भएको थियो । आ.व. २०७८/०७९ मा यो केही बढेर ३० अर्ब पुगेको देखिन्छ । तर आ.व. २०७९/०८० मा भने झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा सीमित भएको थियो । आन्तरीक राजस्व विभागका वार्षिक प्रतिवेदन अनुसार त्यस अवधिमा पुँजीगत लाभकर संकलनमा ठूलो गिरावट आउनुका प्रमुख कारणमा रुस–युक्रेन युद्धको प्रभाव, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा आएको दबाब रहेका छन् । विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले अपनाएका आयात नियन्त्रणसम्बन्धी नीतिगत उपायका कारण आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजार र घरजग्गा कारोबारमा गिरावट आएको थियो, जसले पुँजीगत लाभकर संकलनमा नकारात्मक असर पारेको विश्लेषण गरिएको छ । वार्षिक प्रतिवेदनमा भनिएको छ– ‘आ.व. २०७७/०७८ मा यस शीर्षकमा संकलन २९ अर्ब ३१ करोड रहेकोमा आ.व. २०७८/०७९ मा केही बढेर ३० अर्ब भएको देखिन्छ भने आ.व. २०७९/०८० मा झन्डै आधाले घटेर १६ अर्ब ५७ करोडमा पुगेको देखिन्छ । यसरी भारी गिरावट देखिनुमा रुस युक्रेन युद्ध, तरलता संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय संचितिमा देखिएको संकुचनलाई अस्थायी रुपमा सम्बोधन गर्न सरकारले अपनाएका आयात नियन्त्रणका नीतिगत औजरका कारण आर्थिक गतिविधिमा आएको शिथिलताले सेयर कारोबार र घरजग्गा कारोबारमा गिरावट प्रमुख कारणका रुपमा लिन सकिन्छ ।’ हाल भने आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेसँगै सेयर तथा घरजग्गा कारोबारमा सुधार आएको र यसको प्रत्यक्ष प्रभाव पुँजीगत लाभकर संकलनमा देखिने प्रतिवेदनमा उल्लेख छ ।