सेयर बजारमा ७ अर्बको कारोबार, नेपाल रिपब्लिकमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डहरुले प्रतिफल लाभांश घोषणा गरेका छन् । फण्डहरुले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना इकाईधनीलाई नगद लाभांश वितरण गर्ने भएका हुन् । आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको नगद लाभांश रद्द गरी गत आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश वितरण गर्ने घोषणा गरेको हो । सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत वितरण गर्ने भएका हुन । उक्त वितरण गर्ने प्रयोजनको लागि भदौ ६ गते बुक क्लोज गर्ने भएको छ । सो अनुसार भदौ ५ गते बिहीबारसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्ने छन् ।
युनिलिभर नेपालको नाफा २ अर्ब रुपैयाँ, सञ्चित नाफा ५ अर्ब नाघ्यो
काठमाडौं । युनिलिभर नेपालले गत वर्ष २ अर्ब रुपैयाँ हाराहारीमा नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ०.३५ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ बढी आर्जन गरेको हो । गत वर्ष कम्पनीको बिक्री आम्दानी ०.०७ प्रतिशत बढेर ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समीक्षा वर्षमा कम्पनीको अन्य आम्दानी ३०.७४ प्रतिशत घटेर १६ करोड ६७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानी ०.८० प्रतिशत घटेर ८ अर्ब ४१ करोड २४ लाख रुपैयाँ र कुल खर्च १.५९ प्रतिशत घटेर ५ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो ।