काठमाडौं । प्रभु बैंकले ८.५० प्रतिशत लाभांशदरमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर (परपेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ ।
बैंकको सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले विशेष साधारण सभा तथा नेपाल राष्ट्र बैंक लगायत नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि उक्त सेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनी सचिव अमित भण्डारीका अनुसार बैंकले प्रतिसेयर १०० रुपैयाँ दरका ५ करोड कित्ता अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्नेछ ।
उक्त सेयरमा ८.५० प्रतिशत लाभांशदर कायम गरिनेछ भने मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गरिने जनाइएको छ ।