माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा साउन २८ गते, काठमाडौंको नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको हो ।  सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आफ्नो स्वामित्वमा ल्याउने भएको हो । कम्पनीका अनुसार, आयोजनाको आर्थिक र प्राविधिक मूल्यांकनपछि निर्माण र सञ्चालनका लागि उपयुक्त देखिएकाले दिव्य ज्योति हाइड्रोपावर प्रालिका विद्यमान सबै सेयर खरिद गर्ने निर्णय गरिएको हो । यसपछि कम्पनीको सम्पूर्ण व्यवस्थापन अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।

२७८५ बिन्दुमा झर्‍यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २७८५ बिन्दुमा झरेको छ । आज ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनाइटेड मोदी हाइड्रोको २७ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १९ करोड र नेपाल रिइन्स्योरेन्सको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आजको कारोबारमा व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रहेको छ । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशतले घटेको छ । विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढेको छ ।