काठमाडौं । ९ महिनामा वाणिज्य बैंकहरूले ४९ अर्ब भन्दा बढी नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा २० वटा वाणिज्य बैंकले ४९ अर्ब २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो नाफा गत वर्षको तुलनामा १९.२९ प्रतिशत अर्थात् ७ अर्ब ९६ करोड रुपैयाँ बढी हो । गत आव २०८१/८२ मा ४१ अर्ब २५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
चालु आवको चैत मसान्तसम्ममा १३ बैंकको नाफा बढेको छ भने ७बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कुमारी बैंकले बढाएको छ । कुमारी बैंकको १ हजार ३६१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ८० लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा बैंकले २८ करोड ५८ लाख २३ हजार रुपैयाँ मात्रै नाफा गरेका थियो ।
सार्वजनिक तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको १२९.३३ प्रतिशत बढेर २ अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ, हिमालयन बैंकको ५२.४९ प्रतिशत बढेर ७६ करोड २५ लाख ३६ हजार रुपैयाँ, माछापुच्छ«े बैंकको ५०.४२ प्रतिशत बढेर १ अर्ब ६५ करोड ८६ लाख ५९ हजार रुपैयाँ, सानिमा बैंकको ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
साथै प्राइम बैंकको ३८.५७ प्रतिशत बढेर ३ अर्ब ८ करोड ९३ लाख ३५ हजार रुपैयाँ, सिटिजन्स बैंकको ३५.८२ प्रतिशत बढेर १ अर्ब ३० करोड ६४ लाख ६१ हजार रुपैयाँ नाफा गरेका छन् ।
यस्तै, नबिल बैंकको ३३.९१ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ । नबिल बैंकको नाफा बैंकिङ क्षेत्रमै सर्वाधिक हो । गत वर्षको चैतमा बैंकले ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ खुद नाफा गरेका थियो ।
समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको २३.३६ प्रतिशत बढेर २ अर्ब ३ करोड ८१ लाख ८४ हजार रुपैयाँ, नेपाल एसबीआई बैंकको २१.४८ प्रतिशत बढेर १ अर्ब ४६ करोड १७ लाख ८५ हजार रुपैयाँ, सिद्धार्थ बैंकको २०.७७ प्रतिशत बढेर २ अर्ब १ करोड ४८ लाख ५५ हजार रुपैयाँ, एनएमबि बैंकको १३.२५ प्रतिशत बढेर २ अर्ब ६८ करोड ७७ लाख रुपैयाँ, नेपाल बैंकको ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ नाफा गरेका छन् ।
चालु आवको चैत मसान्तसम्ममा विभिन्न ७ बैंकको नाफा भने घटेको देखिन्छ । जसमा सबैभन्दा धेरै नाफा प्रभु बैंकको घटेको छ । प्रभु बैंकको ५४.६१ प्रतिशत घटेर ८५ करोड १५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ३०.६८ प्रतिशत घटेर ३ अर्ब १४ करोड ६७ लाख ६९ हजार रुपैयाँ, कृषि विकास बैंकको २४.४२ प्रतिशत घटेर १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको १०.४९ प्रतिशत घटेर १४ करोड ३ लाख २४ हजार रुपैयाँ मात्रै नाफा गरेका छन् ।
यस्तै, एभरेष्ट बैंकको ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४.२३ प्रतिशत घटेर २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको २.९३ प्रतिशत घटेर ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् ।
