सेयर बजारमा छायो हरियाली, कुमारी बैंकपछि युनाइटेड अजोडको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक १७.६९ अंकले बढ्दा सबै सूचकमा हरियाली छाएको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २०१५.९८ बिन्दुमा पुगेको छ । यससँगै कारोबारमा आएका सबै उपसूचक उकालो लागेर हरियाली देखिएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी प्रतिशतले बढ्नेमा निर्जीवन बीमा सूमह रहेको छ । जुन एकैदिन १२२.४९ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार २७७ स्क्रिप्सको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी कुमारी बैंकको प्रमोटर अर्थात संस्थापक सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बैंकको एकैदिन २८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार हुने कम्पनीको दोश्रो सूचीमा यूनाइटेड अजोड इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ५ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९८ प्रतिशतले बढेको छ । सोमबारको तुलनामा उक्त हाइड्रोको सेयर मूल्य ५२.६० रुपैयाँले बढेर प्रतिकित्ता ५७९.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.४२ प्रतिशतले घटेर प्रतिकित्ता ६९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेशनल हाईड्रोले साढे १३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनीले भदौ १३ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १३ लाख ३६ हजार ७४२.७१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत असार १९ गतेदेखि साउन १८ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूह तर्फको बिक्री नभएको १३ लाख ३६ हजार ७४२.७१ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले भदौ २४ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

१०.५२ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा

काठमाडौं । ज्योति क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । क्यापिटलले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौ ३१ गते बिहान ९ बजे ज्योति विकास बैंकको केन्द्रिय कार्यालयको सभाहलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, क्यापिटलको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८०÷८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । साथै, क्यािपटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा बढाउने प्रस्ताव गरेको छ । यस्तै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।