हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म लगानीकर्ताहरूले खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् ।

यूनिलिभर नेपालको इतिहासकै सर्वाधिक लाभांश पारित, नाफा पौने दुई अर्ब बढी

काठमाडौं । युनिलिभर नेपालको प्रस्तावित १५८० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २६ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले कम्पनीको इतिहासकै सर्वाधिक लाभांश पारित गरेको हो । उक्त सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । कम्पनीले कर पछिको नाफा एक अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ । कम्पनीका अध्यक्ष देव बाजपेइले आगामी वर्षका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका बताएका छन् । सोही समारोहमा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताएका छन् । जुन गत १० वर्षयताकै सबैभन्दा धेरै हो । प्रबन्ध निर्देशक मुखर्जीले कम्पनीको ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर नपरेको दावी गरे । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।

सेयर बजारमा छायो हरियाली, परिसूचक ३७ अंकले बढ्दा २१४ कम्पनीको मूल्यमा देखियो सुधार

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अन्य ५ वटा कम्पनीको १० करोडभन्दा बढी कारोबार भएको छ । जसमा सोनापुर मिनिरल्स एण्ड आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । बजारमा कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये २४२ वटा कम्पनी रहेका छन् । जसमध्ये अधिकांश अर्थात २१४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बोटलर्स नेपाल (बालाजु), धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनिरल्स एण्ड आयलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १० प्रतिशतभन्दा कम र ९.७० प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा सानिमा लार्ज क्याप फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था, त्रिशुली जलविद्युत कम्पनी, डोल्टी पावर कम्पनी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्था रहेका छन् । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।