सेयर बजारमा छायो हरियाली, परिसूचक ३७ अंकले बढ्दा २१४ कम्पनीको मूल्यमा देखियो सुधार

<p>काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढी हो । बजारमा ४ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८९ प्रतिशतले बढी हो ।

बजारमा ४ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, अन्य ५ वटा कम्पनीको १० करोडभन्दा बढी कारोबार भएको छ । जसमा सोनापुर मिनिरल्स एण्ड आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी नेपाल, सोल्टी होटल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

बजारमा कारोबारमा आएका २९७ वटा स्क्रीप्समध्ये २४२ वटा कम्पनी रहेका छन् । जसमध्ये अधिकांश अर्थात २१४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमा पनि १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

जसमा बोटलर्स नेपाल (बालाजु), धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया र सोनापुर मिनिरल्स एण्ड आयलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १० प्रतिशतभन्दा कम र ९.७० प्रतिशतभन्दा बढी सेयर मूल्य बढ्नेको सूचीमा सानिमा लार्ज क्याप फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था, त्रिशुली जलविद्युत कम्पनी, डोल्टी पावर कम्पनी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्था रहेका छन् ।

बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ ।

Share News