काठमाडौं । चालु आर्थिक वर्षमा डेढ दर्जन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने/नगर्ने घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत लघुवित्तहरूमध्ये १८ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धी निर्णय गरेका हुन् । जसमध्ये १२ वटा लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ६ वटा लघुवित्तले भने लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।
हालसम्म युनिक लघुवित्त, आरएसडिसी लघुवित्त, स्वाबलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त, धौलागिरी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् ।
युनिक लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो । लघुवित्तको गत मंसिर १५ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ ।
यस्तै, स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस ४ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
लाभांश तथा साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् ।
यस्तै, एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैठौँ वार्षिक साधारणसभा पुस ६ गते धरान सुनसरीमा बिहान ९ बजे बोलाएको हो ।
लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस ६ गतेसम्म सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेप्सेमा मंसिर २४ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्ने छन् ।
यस्तै, सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद गरी कूल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, धौलागिरी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, साना किसान विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यस्तै, समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँको ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.२८४४ प्रतिशत नगद गरी कूल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यस्तै, आत्मनिर्भर लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
यस्तै, ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, छिमेक लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँको ५ प्रतिशत र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
५ लघुवित्तका सेयरधनीहरूको हात रित्तो
गत वर्षको नाफाबाट विभिन्न ५ वटा लघुवित्तले भने सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, हिमालयन लघुवित्त, सामुदायिक लघुवित्त र ग्रामीण विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएका हुन् ।
गुराँस लघुवित्तको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने घोषणा गरेको हो । लघुवित्त सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले आठौं वार्षिक साधारणसभा पुस १८ गते धनकुटामा बिहान ११ बजे आह्वान गरेको छ ।
यस्तै, मनकामना स्मार्ट लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उपकार लघुवित्तको कात्तिक २१ गते हिमालयन लघुवित्तको मंसिर ८ गते र सामुदायिक लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
ग्रामीण विकास लघुवित्तले भने लाभांश बिना नै साधारणसभा आह्वान गरिसकेको छ । लघुवित्तको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो ।