थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । सेबोनले बिहीबार गरेको निर्णयअनुसार ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । सेबोनका अनुसार सजिलो ब्रोकर लिमिटेड, रोडसो सेक्युरिटिज, बेनी सेक्यूरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्यूरिटिजलाई लाइसेन्स दिएको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । एनका अनुसार सजिलो ब्रोकर, रोडसो र बेनी सेक्यूरिटिजले सिमित कार्य गर्ने र हिमालयन र सनी सेक्यूरिटिजले पूर्ण कार्य गर्ने लाइसेन्स पाएका हुन् । नेपाल धितोपत्र बोर्डबाट नयाँ ब्रोकरको संख्या ३७ पुगेको छ । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएकामध्ये ४३ कम्पनीहरुलाई आशयपत्र प्राप्त गरेका छन् ।
यातायात अवरुद्ध भएपछि माथिल्लो मैलुङको आईपीओमा आवेदन दिने समय थप
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई भदौ १७ गतेसम्म आवेदन सदने समय थप गरेको हो । कम्पनीले यसअघि गत साउन ४ गतेदेखि भदौ १ गतेसम्म आवेदन समय खुला गरेको थियो । तर, अविरल वर्षाले बाढी पहिरो लगायतले यातायात संचालन अवरुद्ध भएको थियो । त्यसैले आईपीओ संकलन केन्द्रमा आवेदन बुझाउन सहज नभएकाले भदौ १७ गतेसम्म आवेदन दिने समय थप गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका १ (साबिक हाकु गा.वि.स. ८ र ९ तथा डाँडागाउँ गा.वि.स. ७, ८ र ९)का बासिन्दालाई ५ लाख ७१ हजार ४३० किता, आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका २, ३, ४ र ५ (साबिक डाँडागाउँ गा.वि.स. १, २, ३, ४, ५ र ६, ठुलोगाउँ गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपौवा गा.वि.स. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोटको किस्पाङ गाउँपालिका ५ (साबिक मनकामना गा.वि.स. १, २, ३, ४, ५, ६, ७, ८, र ९)का स्थानीय बासिन्दालाई २ लाख ८५ हजार ७२० किता र रसुवाको अन्य क्षेत्रका बासिन्दालाई १ लाख ४२ हजार ८५० किता गरी कूल १० लाख कित्ता सेयर बिक्री गरेको हो । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १ लाख १५ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले सानिमा बैंकका विदुर, किस्पाङ, धुन्चे शाखाबाट आवेदन दिन सकिनेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
सेयर बजारमा झिनो सुधार, काराेबार रकम घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला तीन दिन सेयर बजार राताम्मे भएको थियो । बिहीबार भने नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन एक अर्ब ६७ करोडको शेयर खरिद बिक्री भएको बजारमा बिहीबार २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको यस दिन साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । सेयर बजारका १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ ।