रिडी पावरलाई ५० प्रतिशत हकप्रद बिक्री गर्न अन्तिम स्वीकृति, साढे ४ अर्बको नयाँ आयोजना बनाउँदै

काठमाडौं । विद्युत नियमन आयोगले रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । आयोगले कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको कम्पनी सचिव सन्तोष अधिकारीले जानकारी दिए । साथै, अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । कम्पनीको असार ८ गते सम्पन्न भएको विशेष साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर पारित गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रहेको छ । हकपद्रमार्फत् संकलन भएको पूँजीलाई सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहेको २० मेगावाट क्षमताको तल्लो वलेफि जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेछ । निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ अर्ब ४० करोड रुपेयाँ लगानीमा बन्ने छ । जसमा कुमारी बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी रहेको छ ।

अधिकांश समय सकारात्मक रहेको सेयर बजार घटेर बन्द

काठमाडौं । सोमबार सेयर बजारको नेप्से परिसूचक ३.६१ अंकले घटेको छ । कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार अन्तिममा घटेर नेप्से २०७७.२४ विन्दुमा पुगेको छ । सोमबारको कारोबारमा फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्ला तीनको कारोबार निरन्तर उकालो लागेको थियो । तर, सोमबार भने घटेको बजारमा २७९ स्टकको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.४६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोमबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटलको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । सोमबारको बजारमा १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो । कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढीले घटेको छ ।

एकै दिन कारोबारमा आएका कम्पनीमध्ये घोराही सिमेन्टको सेयर मूल्य घट्यो

काठमाडौं । गत साउन २५ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको आईपीओ सूचीकृत भयो । नेप्सेमा सूचीकृत भएपछि घोराही सिमेन्ट इण्डष्ट्री, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आयो । एकैदिन कारोबारमा आएका यी तीन कम्पनीहरूमध्ये थ्रीस्टार हाईड्रो र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य बढीरहेको छ भने घोरोही सिमेन्टको सेयर मूल्यले ओरालो यात्रा समातेको छ । दोस्रो बजारमा सूचीकृत भएपछि अधिकांश कम्पनीहरुको मूल्य केही दिनसम्म भएपनि उकालो लाग्ने गरेको छ । तर, घोराही सिमेन्टको सेयर मूल्य भने पहिलो दिनदेखि ओरालो लागिरहेको छ । कारोबार खुलेको पहिलो दिन नै कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट अर्थात् ९.९९ प्रतिशत घटेर बन्द भएको थियो । दोस्रो दिन पनि कम्पनीको सेयर घटेर नै कारोबार भइरहरेको छ । सेयर कारोबार सुरु भएको २० मिनेटटको अवधिमा कम्पनीको सेयर मूल्य ७ रुपैयाँ अर्थात् १.३८ प्रतिशत घटेको छ । समाचार तयार पार्दासम्म कम्पनीको ४३ हजार ८९ कित्ता सेयर २ हजार १६९ पटक खरिद बिक्री हुँदा २ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, थ्रीस्टार हाईड्रोपावर र अप्पर स्याँङ्गे हाईड्रोपावरको सेयर मूल्य भने सकारात्मक सर्किट हानिरहेको छ । थ्रीस्टार हाईड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २८ रुपैयाँ बढेर २०८.५० रुपैयाँमा कारोबार भइरहेको छ भने अप्पर स्याँङ्गेको हाईड्रोका सेयर ९.९७ प्रतिशत अर्थात् २७.८० रुपैयाँ बढेर ३०६.७० रुपैयाँमा कारोबार भइरहेको छ ।