काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचकमा झिनो सुधार देखिएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको परिसूचक बुधबार भने समान्य ३.३३ अंकले बढेको छ ।
यससँगै बुधबारको परिसूचक मंगलबारको तुलनामा ०.१८ प्रतिशतले बढेर १८४१.०४ बिन्दुमा पुगेको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने एक अर्ब १४ करोड रुपैयाँमा खुम्चिएको छ ।
बजारमा सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् । कारोबारको शीर्ष पाँचौं स्थानमा रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । जसमध्ये रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ३४ लाख, सन नेपाल लाइफको ७ करोड ३० लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ७९ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ७८ रुपैयाँले बढी हो ।